इजरायलले इरानमा अझै पनि व्यापक आक्रमण गर्न बाँकी रहेको बताएको छ। इजरायलले पश्चिमी र मध्य इरानका क्षेत्रहरू समेट्दै आक्रमणहरू विस्तार गरेपछि इजरायली सैन्य प्रवक्ता एफी डेफ्रिन ले इरानमा अझै हजारौँ लक्ष्यहरूमाथि प्रहार गर्न बाँकी रहेको बताएका छन्। यो जानकारी बीबीसी ले जनाएको हो। इजरायली रक्षा बलले इरानी पूर्वाधारहरूलाई कमजोर पार्ने लक्ष्यसहित आक्रमण जारी राखिएको बताएको छ। आईडीएफका अनुसार इस्लामिक रिभोलुसन गार्ड कोर्प्स र बासिज फोर्स सँग सम्बन्धित धेरै प्रमुख मुख्यालयहरूमा आक्रमण गरिएको छ।
यसैबीच डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री केअर स्टार्मर ले स्ट्रेट अफ हर्मुज सम्बन्धी अवस्थाबारे छलफल गरेका छन्। फोनवार्ताका क्रममा उनीहरूले मध्यपूर्वमा जारी तनाव तथा विश्वव्यापी ढुवानीमा देखिएको अवरोध अन्त्य गर्न हर्मुज समुद्री मार्ग पुनः खोल्ने विषयमा कुराकानी गरेका खबरमा उल्लेख छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपेली देशहरूले हर्मुज मार्ग खोल्न सहयोग नगरेमा उत्तर एटलान्टिक सन्धि सङ्गठनको भविष्यका लागि यो निकै नकारात्मक हुने चेतावनी दिएका छन्। बेलायती दैनिक फाइनान्सियल टाइम्स लाई दिएको अन्तर्वार्तामा ट्रम्पले बेइजिङमा सी जिनपिङ सँग हुने आगामी भेटवार्ताअघि चीनले पनि हर्मुज समुद्री मार्ग खोल्न सहयोग गर्ने आशा व्यक्त गरेका छन्।
उक्त भेटवार्ता मार्चको अन्त्यतिर बेइजिङ मा हुने तय भएको बताइएको छ। साथै ट्रम्पले हर्मुज समुद्री मार्गबाट लाभ लिइरहेका देशहरूले त्यसलाई पुनः सञ्चालनमा ल्याउन सहयोग गर्नु उपयुक्त हुने पनि बताएका छन्।







