समानुपातिक सांसदका नाम ६ दलले निर्वाचन आयोगमा बुझाए

काठमाडौं – तीन प्रतिशत मतको थ्रेसहोल्ड पार गरेका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फका सांसदहरूको नाम निर्वाचन आयोग मा बुझाएका छन्। दलहरूले यसअघि आयोगमा पेश गरेको बन्दसूचीबाट तोकिएको क्लस्टरअनुसारको प्रतिनिधित्वका आधारमा नामावली पठाएका हुन्। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसी का अनुसार दलहरूले बुझाएको नाम क्लस्टरअनुसार मिलेको भए सार्वजनिक गरिने र नमिलेमा मिलाउनका लागि समय दिइनेछ।

६ दलमध्ये १६ सिट पाएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले समानुपातिक सांसदहरूको नाम हिजै सार्वजनिक गरिसकेको छ। फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बसेको सचिवालय बैठकबाट समानुपातिक सांसदको नाम टुङ्गो लगाएको हो। रास्वपाले ४८ जना महिला र ९ जना पुरुषको नाम बुझाएको र विवरण आयोगले नै सार्वजनिक गर्ने पार्टीका प्रवक्ता मनिष झा ले जानकारी दिनुभयो।

यसैगरी समानुपातिकतर्फ २० सिट पाएको नेपाली कांग्रेस ले पनि आजै नाम टुङ्गो लगाएको छ। कांग्रेसले १५ जना महिलासहित २० जनाको नाम आयोगमा बुझाएको र विवरण आयोगले नै सार्वजनिक गर्ने पार्टीका प्रवक्ता देवराज चालिसे ले जानकारी दिनुभयो।

त्यस्तै ९ सिट पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रमेश हमाल, परशुराम तामाङ, भीमकुमार बुढा, प्रेम बयक, जोगकुमार बर्बरिया यादव, पार्वती विक, गणेश विश्वकर्मा र निराशा चौधरी डगौराको नाम पठाएको छ। ४ सिट पाएको श्रम संस्कृती पार्टी ले पूर्णप्रसाद लिम्बू, अम्बिकादेवी सङ्ग्रौला, राधिका रम्तेल र रुवीकुमारी ठाकुरको नाम बुझाएको छ। यस्तै ४ सिट पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भरत गिरी, ताहिर अली, खुस्बु ओली र सरस्वती लामाको नाम आयोगमा पेश गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्