काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण ले प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन गरिने जनाएको छ।
प्राधिकरणले देशभरका सबै प्रकारका आन्तरिक उडानहरू आवश्यकता अनुसार सञ्चालन हुने स्पष्ट पारेको छ। यात्रुको चाप, सुरक्षाको अवस्था तथा समग्र व्यवस्थापनलाई ध्यानमा राख्दै उडान तालिका मिलाइने जनाइएको छ।
यस्तै, अन्तरराष्ट्रिय उडानहरू भने मध्यपूर्वी गन्तव्य बाहेक अन्य गन्तव्यमा नियमित रूपमा सञ्चालन हुने प्राधिकरणले जनाएको छ। मध्यपूर्वी गन्तव्यका उडान भने सम्बन्धित देशको निर्णय तथा गन्तव्य विमानस्थलको अवस्थाका आधारमा वायुसेवा कम्पनीले संशोधित उडान तालिका अनुसार सञ्चालन गर्ने उल्लेख गरिएको छ।
मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिका कारण ती क्षेत्रतर्फका उडानहरू तत्कालका लागि स्थगित हुँदै आएको प्राधिकरणले जानकारी दिएको छ। यात्रुहरूलाई उडान सम्बन्धी अद्यावधिक जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गर्न पनि आग्रह गरिएको छ।







