सिरहा। प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव नगदसहित पक्राउ परेका छन्। मौन अवधिका बेला नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२:३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेर तलासी गर्दा ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी का अनुसार गाडीबाट मतपत्रसमेत फेला परेको दाबी गरिएको छ। नियन्त्रणमा लिइएकाहरूलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ भने थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरी पनि पक्राउ परेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








