काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका थिए ।
निर्वाचन आयोगका अनुसार विभिन्न उम्मेदवारविरुद्ध परेका उजुरीमध्ये हालसम्म पाँच जनाविरुद्ध उजुरी परेकोमा तीनवटा उजुरी खारेज भइसकेका छन् । भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहेकी जानुका पाठकविरुद्ध परेको उजुरी खारेज गरिएको छ ।
त्यसैगरी, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारीविरुद्ध परेको उजुरी पनि खारेज भएको छ । नेपालले रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएका छन् ।
यसैबीच, सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालबिक्रम थापाविरुद्ध परेको उजुरीमाथि भने निर्वाचन आयोगमा छलफल जारी रहेको जनाइएको छ ।
निर्वाचन आयोगले कानुनी प्रक्रिया अनुसार उजुरीहरूको छानबिन गरी निर्णय लिइरहेको जनाएको छ ।





