प्रतिनिधिसभा सदस्यका लागि ३४८४ उम्मेदवारको मनोनयन, आज उजुरी दिन सकिने

काठमाडौँस्थित निर्वाचन आयोगको कार्यालयमा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का अवसरमा उम्मेदवार मनोनयन प्रक्रियाबारे जानकारी दिन मङ्गलबार आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा प्रश्नोत्तर सत्रमा सहभागी हुनुहुँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी। तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा ३ हजार ४८४ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगका अनुसार ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ जना र स्वतन्त्रतर्फ १ हजार १८७ जनाले हिजो मनोनयन दर्ता गराएका हुन्।

कुल उम्मेदवारमध्ये ३ हजार ८८ जना पुरुष, ३ सय ९५ जना महिला र अन्य समूहबाट एक जना महिला उम्मेदवार रहेको आयोगले जनाएको छ।

निर्वाचन कार्यक्रमअनुसार मनोनयन दर्ता भएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिनेछ। उजुरी परेपछि भोलि बेलुका ५ बजेसम्म मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी आवश्यक निर्णयसहित उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जानकारी दिएको छ। उजुरी, दाबी–विरोध तथा नाम फिर्ता प्रक्रियापछि उम्मेदवारको संख्या केही घट्न सक्नेछ।

आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने व्यवस्था गरेको छ। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर उत्साहजनक र शान्तिपूर्ण रूपमा मनोनयन प्रक्रिया सम्पन्न भएको बताउनुभयो। निर्वाचनका बाँकी कार्यक्रमहरू पनि सफलतापूर्वक सम्पन्न गर्न राजनीतिक दल तथा सबै सरोकारवालाबाट सहयोग प्राप्त हुनेमा आयोग विश्वस्त रहेको उहाँले जनाउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्