काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालतले मागेको एक करोड रुपैयाँ धरौटी बुझाएका छन्। अदालत स्रोतका अनुसार लामिछानेले धरौटीस्वरूप एक करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी पेस गरेका हुन्। सानो पाइला बचत तथा ऋण सहकारी संस्था, वीरगन्जको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराधअन्तर्गत गत असार १ गते पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। उक्त मुद्दामा अभियोजन पक्षले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ।
आज भएको थुनछेक बहसपछि न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले रवि लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको थियो। धरौटी बुझाउन नसकेको अवस्थामा उनी थुनामा जानुपर्ने अवस्था थियो। अदालती प्रक्रियामा व्यस्त रहनु परेकाले लामिछाने आज चितवन–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न स्वयम् उपस्थित हुन सकेनन्। उनले वारेसमार्फत मनोनयन पत्र दर्ता गराएका थिए।
धरौटी बुझाएपछि केही बेरअघि उनी चितवनतर्फ प्रस्थान गरेको अदालत स्रोतले जनाएको छ।





