काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार श्रेष्ठले आज औपचारिक रूपमा राजीनामा दिएका हुन् ।
राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर श्रेष्ठ प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ निर्वाचन लड्ने तयारीमा छन् । ६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै थियो । कार्यकाल सकिन एक महिना अगाडि नै उनले राजीनामा दिएका हुन् ।
श्रेष्ठले यसअघि २०७० सालमा मकवानपुरबाट प्रतिनिधिसभा निर्वाचन लडेका थिए भने २०७४ सालमा गोरखाबाट चुनाव लडेका थिए । त्यसपछि २०७६ सालमा उनी राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेर निर्वाचित भएका थिए ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सी उम्मेदवारी दर्ता गर्ने समय तय भएको छ । उम्मेदवारी दर्ताको दुई दिन अगाडि श्रेष्ठले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका हुन् ।





