गोकुलेश्वर माध्यमिक विद्यालय भवन निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ — दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर नमूना माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि नेपाल सरकार, भारत सरकार र शैल्यशिखर नगरपालिकाबीच समझदारी पत्र (MOU)मा हस्ताक्षर भएको छ। काठमाडौंस्थित भारतीय दूतावास (विकास साझेदारी तथा पुनर्निर्माण शाखा)को High Impact Community Development Project (HICDP) कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको विद्यालय भवन परियोजनासम्बन्धी समझदारी पत्रमा नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय दूतावास र शैल्यशिखर नगरपालिकाका प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन्। यसैगरी गोकुलेश्वर माविका प्रधानाध्यापक पिताम्बर बिष्ट समेत सहभागी हुनुहुन्थ्यो ।

शैल्यशिखर नगरपालिकाबाट मेयर विजयसिंह धामी र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र विष्ट उपस्थित रहेर नगरपालिकातर्फबाट MOU मा हस्ताक्षर गर्नुभएको हो। भारत सरकारको आर्थिक सहयोगमा बन्ने उक्त भवनको कुल लागत करिब रु. १५ करोड ३ लाख १८ हजार ३१८ रहेको छ। सोमध्ये ९० प्रतिशत रकम भारतको काठमाडौंस्थित दूतावासले व्यहोर्ने र बाँकी १० प्रतिशत लागतले हुन आउने १ करोड ५० लाख  शैल्यशिखर नगरपालिकाले बेहोर्ने उल्लेख गरिएको छ।

यो परियोजना सन् २०२४ जनवरी ४ मा नेपाल–भारतबीच हस्ताक्षर भएको High Impact Community Development Project (HICDP) अन्तर्गत पर्छ। परियोजना कार्यान्वयनका लागि दूतावासका काउन्सिलर अविनाश कुमार सिंहले गत अक्टोबर ६ मा नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रबिलाल पन्थलाई सम्झौता मिति तोक्न पत्राचार गरेका थिए।

यस विद्यालय भवन निर्माण परियोजना नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले निरन्तर रुपमा अनुरोध गर्दै भवन निर्माणका लागि पहल गर्दै आइरहनुभएको थियो । दीर्घ पहल र प्रयासको फलस्वरूप स्वीकृत भएको हो। उहाँले सन् २००८ देखि नै भारतीय दूतावाससँग विद्यालय भवन निर्माणका लागि पहल गर्दै आउनुभएको थियो।

यसअघि शैल्यशिखर–८ झरकाँडास्थित गलैनाथ माध्यमिक विद्यालय भवन, दार्चुलाका अन्य विद्यालय भवन, स्वास्थ्य चौकी र विभिन्न पालिकाहरूमा विद्यालय बस तथा एम्बुलेन्स सेवा भारत सरकारको सहयोगमा सञ्चालन भएका छन्। गोकुलेश्वर विद्यालय भवन परियोजनामा समझदारी हस्ताक्षर भएपछि स्थानीय समुदायले विद्यालयको दीर्घ प्रतीक्षित सपना पूरा हुने विश्वास व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्