काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध एमाले निकट युवा संघले साइबर ब्युरोमा उजुरी दिएको छ ।
युवा संघका नेता तथा कार्यकर्ताहरूले मेयर शाहविरुद्ध उजुरी लिएर साइबर ब्युरो पुगेका हुन् । ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नविन्द अर्यालका अनुसार उजुरी दर्ताको प्रक्रिया जारी छ ।
मेयर शाहले गत शनिबार मध्यरात सामाजिक सञ्जाल ‘फेसबुक’मा आपत्तिजनक शब्दसहितको स्टाटस लेखेका थिए । केही समयमै उनले उक्त स्टाटस हटाए पनि त्यसले व्यापक विवाद सिर्जना गरेको थियो ।
पछिल्ला दिनमा सामाजिक सञ्जालमा अभिव्यक्ति र त्यसप्रति प्रतिक्रियालाई लिएर मेयर शाह बारम्बार विवादमा तानिँदै आएका छन् ।






