काठमाण्डौ । नेकपा एमालेले आफ्नो ११औं राष्ट्रिय महाधिवेशन काठमाण्डौमा गर्ने निर्णय गरेको छ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा शनिबार बसेको सचिवालय बैठकले महाधिवेशन स्थल पोखराबाट परिवर्तन गरी काठमाण्डौमा गर्ने निर्णय गरेको हो ।
यसअघि बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो । तर, नयाँ निर्णयअनुसार अब पार्टीको ११औं महाधिवेशन राजधानी काठमाण्डौमै हुनेछ ।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, महाधिवेशन आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म आयोजना हुनेछ । साथै, विधान महाधिवेशनबाट प्राप्त सुझावहरू परिमार्जन गरी कात्तिक २० गतेसम्म अन्तिम रूप दिने निर्णय गरिएको छ ।
ज्ञवालीका अनुसार, संगठन सुदृढीकरण र नयाँ नेतृत्व चयन दुवैलाई प्रभावकारी बनाउन काठमाण्डौलाई उपयुक्त स्थानका रूपमा चयन गरिएको हो ।







