इलाममा बाढी पहिरोमा १७ जनाको मृत्यु, तीन जना अझै बेपत्ता

AI Generated Photo

काठमाडौँ – लगातारको वर्षासँगै इलामका विभिन्न स्थानमा गएको बाढी–पहिरोले १७ जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता रहेका छन्। इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ र फाकफोकथुम गाउँपालिकामा ठूलो मानवीय क्षति भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।

इलाम नगरपालिका–६, घोसस्थित डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा घरभित्र रहेका ६ जनाको मृत्यु भएको छ। घटनास्थलमा सशस्त्र प्रहरी बल श्रीअन्तु गणबाट उद्धार टोली खटिएको थियो। त्यसैगरी सूर्योदय नगरपालिका–१, मानेभञ्ज्याङमा राजु क्षेत्रीको घर पहिरोले पुरिँदा ५ जनाको ज्यान गएको छ। चार जनाको शव घर भत्किएको ठाउँबाट निकालिएको र घाइते एकजनाको उपचारका क्रममा बाटोमै मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।

देउमाई नगरपालिका–५, घुसेनीमा दीपक लिम्बुको घर पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ, ३ जना बेपत्ता र १ जनालाई सकुशल उद्धार गरिएको छ। त्यस्तै माङसेबुङ गाउँपालिका–५, पार्टीगाउँमा मदन लिम्बुको घर पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ भने
फाकफोकथुम गाउँपालिका–३, रातोमाटेका ३२ वर्षीय सुरेश लिम्बुको पनि पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीहरूको संयुक्त टोलीले उद्धार कार्य जारी राखेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
साथै, निरन्तरको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्