जेनजी आन्दोलन सेरोफेरो

जेन- जी पुस्ताले अव्यवस्था, कुशासन र सामाजिक संन्जाल माथि लगाइएको प्रतिवन्ध विरुद्ध भाद्र २३ गते प्रदर्शनी आयोजना गरेको थियो, ठिक १ दिन अगाडि भाद्र २० देखि २२ सम्म सत्ता नेतृत्वमा रहेको नेकपा एमाले, आफ्नो पार्टीको विधान अधिवेशन सम्पन्न गर्न गोदावरीस्थित सनराइजहलमा व्यस्त थियो, सडकमा पुराना नेताहरुको असक्षमता, अकर्मण्यता र भ्रष्टता बिरुद्ध युवा आक्रोश प्रकट हुने तयारी भइरहदा, एमालेमा भने विद्यमान अध्यक्ष पदको ७० वर्षे हद र अध्यक्ष २ कार्यकाल भन्दा बढी नहुने प्रावधानमा संशोधन गर्दै केपी ओलीलाई निष्कण्टक नेता बनाउने प्रस्तावमा हस्ताक्षर मात्रै हुदै थिएन, वाकपटुताका धनी प्रधानमन्त्री केपी शर्मा ओली जेनजीको आवाजलाई केटाकेटी भन्दै कटाक्ष गर्न भ्याइरहेका थिए ।

उता अर्को सत्ता साझेदार नेपाली काँग्रेसका सभापति सेर बहादुर देउवा, सन्जाल बन्दको निर्णय सच्याउनु पर्यो भन्दै आफ्नो दैलो पुगेका महामन्त्री गगन र विश्वप्रकाशलाई फटकार्दै केपी संग भएको ७ बुदे सम्झौता देखाइरहेका थिए, सायद देउवाले जेनजी प्रदर्शन विद्रोहमा परिणत हुने अनुमान गर्ने त कुरै भएन, उन्ले जनजी प्रदर्शनको तिथि, मिति समेतको हेक्का राखेका थिएनन्।

राजधानी लगायत देश भरिका मुख्य सहरहरुमा भाद्र २३ गते जेन्जी प्रदर्शन शानदार भइरहेकै अवस्थामा, नयाँ वानेश्वर स्थित संसद भवन अगाडी सरकार वरवर दमनमा उत्रियो, एकै स्थानमा १९ जना युवाहरुको टाउको र छातीमा गोली ठोकेर मार्न उद्धत भयो, भने सयौलाई घाइते पार्दै, सरकार आफैले जनजी प्रदर्शनलाई जेनजी विद्रोहमा परिणत हुने पृष्ठभूमि तयार पार्‍यो।

समान्य प्रदर्शन वाट सुरु भएको जेन्जी प्रदर्शनी भाद्र २४ गते  विद्रोहमा परिणत हुनु स्वभाविक थियो, आक्रोशपुर्ण सडकमा जनताहरुको स्वतस्फुर्त सहभागिता सुनिश्चित नै थियो त्यो भयो पनि, निश्चित उमेर समुहमा सिमित प्रदर्शनले व्यापक सहभागिता सहित जनआन्दोलनको स्वरुप ग्रहण गर्यो। परिस्थितिको लाभ उठाउन दाउ खेल्ने संगठित र असंगठित स्वार्थ समुहहरुले, प्रष्टै देखिने, बुझिनेगरी युवा आन्दोलनको दुरुपयोग गर्दै देशको न्यायपालिका, कार्यपालिका, व्वस्थापिका, संवैधानिक अंगहरु, देश भरिका अड्डा अदालत, सुरक्षा पोष्ट, व्यापारिक प्रतिष्ठान, निजी घरहरु माथि सुनियोजित आगजनी, तोडफोड, लुटपाट गरि परिस्थिति लाई थप दुःखद र अराजक बनाए।

तन्नेरी पुस्ताको पवित्र आकांक्षाको धरातलमा भएगरेका स्वदेशी र चर्चामा आएका विदेशी हर्कतहरु समेतको समयले पटाक्षेप होला नै, अहिलेलाई ती हर्कतहरु, २३ गते युवाहरु माथि गोली दाग्ने हर्कतझै वरवर, निन्दनीय र दण्डनीय थिए भन्दा पुग्छ।

को हुन जेन-जी ?

जेन-जी बारे तरह तरहका काल्पनिक कथाहरु कोरिदैछन, विदेशी INGOs Funded, दक्षिण र पश्चिम Guided, राजा ल्याउन उद्दत, ट्यापे जमात जस्ता जटिल परिभाषाहरु भित्र जेन-जी लाई परिभाषित गर्न खोजिदैछ, २४ पछिको प्रारम्भिक चरणमा जेन्जी भित्र देखिएको हल्लाबोलले पनि परिभाषाकार हरुले मसला पाए तर पछिल्लोचरणमा वैदेशिक हस्तक्षेप, लोकतन्त्र माथिको खतरा बारे सुझबुझ र प्रतिवद्धता देखाउदै, सेना र राष्ट्रपति संग जेनजीले जुन समन्वय र सहकार्य गरे त्यसले जेनजीको रुप र सार सफा भएको देखिएको छ।

जेन्जी को हुन ? भन्ने प्रश्नको उत्तर सरल छ, यो बनिबनाउ कुनै संगठन, पार्टी वा गैह्र सरकारी संस्था होइन, यो असंगठीत त छ, तर यस्का सदस्यहरू हामि सवै नेपालीहरुको घरघरमाछन, काँग्रेस, एमाले, माओवादी, रास्वपा, राजावादी, किसान, मजदुर, उद्योग व्यवसायी, कर्मचारी, सेना, पुलिस सवैको घरघरमा रहेका २८ मुनिका तन्नेरीहरु जो शिक्षित मात्रै छैनन, सुचना प्रविधिमा अभ्यस्त छन, हामि नेता र नेतृत्वकर्ताहरुको गति र मतिलाई नजिक वाट हेरेका छन्, हामीले मलजल गरेको अड्डा अड्डाको भ्रष्टाचार, सिमित नेताहरु र नातागोताको रजगज र देशको यथास्थितिबाट आजित भई आक्रोशित छन् ती सवै युवाहरु जेन्जी हुन्। जेन्जी खोज्न टाढा नजाउ, हामी पार्टीमा रहेका नेताहरुले आफ्नो घर भित्रको छोराछोरी, भाइ बहिनी जेन्जी सित सोधौँ, वर्तमान देशको अवस्था, नेताहरूको कार्यशैली, लोकतन्त्रको समग्र सेटअप वारे, कसैले पनि सन्तोष प्रकट गर्नेछैनन्, यहि हामी देखेर असन्तुष्ट पुस्ता जेनजी हो।

जेनजी किन उठे ?

डेनमार्कका महान लेखक हान्स क्रिस्चियन एन्डर्सन लिखित कथा The Emperor’s New Clothes मा नाङ्गो वादशाहलाई नाङ्गो भएको भन्न सवै डराएर नाङ्गो बादशाहको महिमागान हुदै थियो, एउटा बालकले ” तर बादशाहले त लुगानै लगाएको छैन ” भन्दै सत्योदघाटन गरे जस्तै भ्रष्टाचार, अव्यवस्था लोकतन्त्रको नाममा सर्वत्र दलतन्त्र , दल भित्रसिमित नेताहरुको रजवारी प्रथा, पालैपालो गरी राज्य दोहन प्रति अैाला उठाउने आँट हराउदै गइरहदा, जेन्जी पुस्ता उठेको हो ।

यो सत्य जस्ले जति चाँडो बुझ्छ र आत्मसात गर्छ त्यतिनै त्यो दल र नेताको सान्द्रभिकता कायम रहनेछ, यो सत्य प्रति आनाकानी गर्ने, “हिङ नभए पनि हिङ छोपेको टालो छ” भन्दै टालो सुङ्ने दल र नेताहरूको सान्द्रभिकता बारे भने, राम राम बाहेक केहि भन्नु छैन।

जेन्जी मुद्दा र वर्तमान सरकार

जेन्जी आन्दोलन हाइज्याक भयो भनेर जेन्जीहरु स्वयंले र विश्लेषकहरुले विश्लेषण गरेको भेटिन्छ। पङ्तिकारको ठम्याइमा आन्दोलन हाइज्याक नभएर आन्दोलनमा घुसपैठ भयो, आन्दोलन विसर्जन गर्दा, जेनजी को मुद्दा विस्थापित भयो।

जेनजी ले उठाएको सुशासन, अव्यवस्थाको विषय, समान्य छानबीन, कारवाहीले मात्रै हलहुने विषय होइन, यही प्रणाली र संरचनात्मक सेटअप भित्र जो सुकै सत्तामा गए पनि फरक परिणाम आउने संभावना मकै रोपेर आँपको अपेक्षा गरे जस्तैहुन्छ। राजनैतिक स्थायित्व, निर्वाचन प्रणाली र प्रकृयामा सुधार, अनावश्यक अंग खारेजी, कर्मचारीतन्त्रको पुर्नसंरचना, योग्यता आधारित प्रणाली जस्ता व्यापक सुधार विना सुशासन कसरि हुन्छ ? यी सबै सुधारको लागि संविधान संशोधन अनिवार्य छ, समान्य अवस्थामा यी सबै विषयहरु सजिलै संशोधन संभव छ ? छैन किनभने, समान्य अवस्थामा यी विषयहरु उठाउना साथ थरीथरी बहस, तर्क अनेक थरी कोणवाट उठनेछन, जस्ले सोचेझै संशोधन सहज हुनेछैन।

जेनजी आन्दोलनको रापताप नसेलाउदै, यो संशोधन सहज थियो, विघटित संसदमा रहेका धेरै जसो दलहरु यी विषयहरुमा जेनजीकै लाइनमा थिए, मुख्य भनिएका नेपाली काँग्रेस र एमाले भित्र पनि  मुल नेतृत्व पुर्णतया राजनीतिक साखको हिसाबले रक्षात्मक अवस्थामा थियो, जनतामा सकारात्मक साख भएका नेताहरू, जस्को जेनजी मुद्दाहरु प्रति सकारात्मकता थियो उनिहरुले ती दुवै दलहरू भित्र हस्तक्षेप गर्नसक्ने प्रवलता थियो, यस प्रकार विघटित प्रतिनिधिसभाबाट नै, संविधान संशोधन गरेपश्चात संसद् विघटन गर्ने स्तरीय विकल्प छोडेर, संसद विघटनमा हतारो गर्नुले जानेर वा नजानेर जेनजीको मुद्दा विस्थापित हुने बाटो तय हुने खतरा विद्यमान भएकोछ।

सुशीला सरकारको कार्यभार

यहि फाल्गुण २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मुख्य म्यान्डेट सहित आवश्यकताको सिद्धान्तमा आधारित सुशीला कार्की नेतृत्वको गैह्रदलीय नागरिक सरकार, माथि उल्लेखित संविधान संशोधन सहित गठन भएको भए यो सरकार ०६२/०६३ को आन्दोलन पश्चात गठित गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारझै शक्तिशाली हुने थियो तर त्यो अवसर यो सरकारलाई प्राप्त हुन सकेन। तथापी युवाहरुको वलिदानी र वृहत समर्थनको बलियो आडमा बनेको यो सरकारले, यथासिघ्र २०४६ पश्चात पदमा रहेका नेता, कर्मचारी, प्रशासक सबैको सम्पत्तिको निष्पक्ष छानबीन र कारवाही, भाद्र २३ र २४ गते भएका घटनाहरुको छानबीन र कारवाही, चर्चामा आएका भ्रष्टाचार काण्डहरुको छानबीन गर्न ढिलाई गर्नु हुदैन। यति मात्रै गरेर निर्वाचन सम्पन्न गर्न सकेमा नेपालको प्रथम महिला प्रधानमन्त्री सुशासन सहितको लोकतन्त्र की आमा बन्नेछिन।

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्