कैलाली – धनगढीमा नूनसहित खाद्यान्न बोकेको मिनिट्रकबाट रु एक लाख बढीको मदिरा प्रहरीले आज बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–४ अस्थायी प्रहरी पोष्ट चटकपुरबाट प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिइएको प्रहरी टोलीले गोदावरी नगरपालिका–४ का नरेन्द्रसिंह महराले चलाइराखेको से१ख २०१० नम्बरको मिनिट्रकमा जाँचका क्रममा रु एक लाख १५ हजार ९२५ बराबरको १२६ पेटी रोज नामक मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
धनगढीबाट अत्तरियातर्फ गइरहेको अवस्थामा ट्रकलाई रोकी जाँच गर्दा मदिरा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको बताइएको छ । ट्रकसहित चालकलाई नियन्त्रणमा लिइ गाडी र मदिरा धनी धनगढी–१३ का दिनेश पन्तलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । बरामद मदिरा आवश्यक कानूनी कारवाहीका लागि आन्तरिक राजस्व कार्यालयमा बुझाइने जनाइएको छ । -रासस