काठमाडौं – सागर डिष्टिलरी लिमिटेडले भदौ २५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ वितरण गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताका लागि शेयर बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले कुल १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएकोमा १ लाख ४५ हजार २०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई वितरण गरिसकेको छ । त्यस्तै, ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषलाई र ४३ हजार ५६० कित्ता कर्मचारीका लागि सुरक्षित राखिएको छ । अब भने सर्वसाधारण लगानीकर्ताका लागि ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन हुनेछन् । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओमा आवेदन दिने अवधि भदौ २९ गतेसम्म रहनेछ । सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा असोज ८ गतेसम्म अवधि लम्बिन सक्नेछ ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको यस आईपीओको रेटिङ्ग इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले ‘आईआरएन सिंगल बी प्लस’ दिएको छ, जसले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।






