बैतडीमा रातिको समयमा सवारी सञ्चालनमा रोक

काठमाडौं – अविरल वर्षाका कारण बाढी–पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । साथै जिल्लावासीलाई आकस्मिक अवस्थाबाहेक यात्रा नगर्न आह्वान गरिएको छ ।

तीन दिनदेखि निरन्तर वर्षा भइरहेकाले बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । महाकाली नदीको जलस्तर बढेकाले किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले विपद्को जोखिम बढेकाले जोखिमयुक्त स्थानमा नबस्न, अति आवश्यक नभई यात्रा नगर्न र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । विपद्जन्य घटना भएमा तत्काल परिचालन हुनेगरी सुरक्षाकर्मी तथा सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

प्रशासनले मनसुनजन्य विपद्को सम्भावनालाई ध्यानमा राख्दै रातिको समयमा सवारीसाधन नचलाउन, नदी–खोल्सामा नजान र अत्यावश्यकबाहेक यात्रा नगर्न अनुरोध गरेको छ । यसैबीच, जिल्ला प्रहरी कार्यालय बैतडीले निरन्तर वर्षाका कारण बाढी–पहिरो आई बाटोघाटो अवरुद्ध हुन सक्ने भएकाले सावधानी अपनाउन चालक तथा यात्रुहरूलाई आग्रह गरेको छ ।

प्रहरी प्रवक्ता बलराम पाण्डेयका अनुसार सम्भावित क्षति वा जोखिमबारे जानकारी भए नजिकको प्रहरी एकाइमा खबर गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्