काठमाडौं – विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलनमा रहेका निजी विद्यालयहरूले सोमबार काठमाडौं उपत्यकामा विद्यालय बससहित र्याली निकालेका छन् ।
सरकारले समिति मार्फत संसदमा पेस गरेको विधेयकका केही प्रावधान निजी विद्यालयहरूको हितविपरीत रहेको भन्दै विद्यालय सञ्चालकहरूले विरोध स्वरूप बस र्याली गरेका हुन् । विद्यार्थीलाई बिहान विद्यालय पुर्याएपछि विद्यालय बसहरूलाई सडकमा उतारिएको हो ।
र्यालीका लागि विद्यालय बसहरूको विभिन्न रुट निर्धारण गरिएको छ । भक्तपुर, कागेश्वरी, पेप्सीकोला, तीनकुने, नरेफाँट, जडीबुटी र बानेश्वरतर्फका विद्यालय बसहरू कोटेश्वरबाट सातदोबाटो हुँदै चक्रपथ परिक्रमा गरेका छन् । त्यसैगरी, ललितपुर क्षेत्रका सबै विद्यालय बसहरू सातदोबाटोबाट एकान्तकुना हुँदै चक्रपथतर्फ परिक्रमा गरेका छन् । कीर्तिपुर, त्रिपुरेश्वर, टेकु र कालिमाटी क्षेत्रका विद्यालय बसहरू बल्खुबाट कलंकी हुँदै चक्रपथतर्फ र्यालीमा सहभागि भएका छन् । चन्द्रागिरी, थानकोट, स्यूचाटार र सोल्टीमोड क्षेत्रका विद्यालय बसहरू भने कलंकीबाट सितापाइला हुँदै चक्रपथ परिक्रमा गरेका छन् ।
निजी विद्यालय सञ्चालकहरूले विधेयक संशोधन नगरेसम्म आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने चेतावनीसमेत दिएका छन् ।







