एससीओ सम्मेलनबाहिर मोदी–शी भेट : सीमा शान्ति र आपसी सहयोगमा जोड

काठमाडौं – चीनको तियानजिनमा भइरहेको शांघाई सहयोग संगठन (एससीओ) सम्मेलनका अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच आइतबार भेटवार्ता भएको छ ।

भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री मोदीले भारत र चीन दुवै रणनीतिक स्वायत्तता चाहने मुलुक भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध कुनै तेस्रो देशको दृष्टिकोणबाट हेर्नु हुँदैन भनेका छन् । उनले सीमा क्षेत्रमा शान्ति कायम राख्नु दुवै देशको प्राथमिकता भएकोमा जोड दिएका छन् ।

सात वर्षपछि मोदी चीन भ्रमणमा पुगेका हुन् । २०२० मा गलवानमा भएको सैन्य झडपपश्चात उनको यो पहिलो चीन यात्रा हो । भेटमा राष्ट्रपति सीले भारत–चीन दुवै विश्वका सर्वाधिक जनसंख्या भएका मुलुक र ग्लोबल साउथका महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै “हाथी र ड्रागन” सँगै अघि बढ्नु जरुरी रहेको बताए ।

विदेश मन्त्रालयको भनाइअनुसार सन् २०२४ को अक्टोबरमा काजानमा भएको मोदी–शी भेटपछि द्विपक्षीय सम्बन्धमा सकारात्मक प्रगति भएको छ । भारतले चीनसँग प्रतिद्वन्द्वी नभई विकासमा साझेदारको भूमिकामा रहनुपर्ने भन्दै मतभेदलाई विवादमा नफेरिनुपर्ने बताएको छ ।

भारतले “बहुध्रुवीय विश्व र बहुध्रुवीय एशिया” को महत्वलाई समेत जोड दिएको छ । आपसी सम्मान, आपसी हित र आपसी संवेदनशीलताका आधारमा दुवै मुलुकबीच दीगो सम्बन्ध बन्नुपर्ने विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

दुवै नेताले विगत वर्ष भएको सेना फिर्ता र त्यसपछि सीमाक्षेत्रमा कायम शान्तिप्रति सन्तोष व्यक्त गरेका छन् । साथै, सीमा विवादलाई न्यायपूर्ण, उचित र दुवै पक्षले स्वीकार्य समाधानतर्फ लैजाने प्रतिबद्धता समेत प्रकट गरेका छन् ।

भेटमा कैलाश मानसरोवर यात्रा, पर्यटक भिसा, भिसा सुविधा विस्तार र प्रत्यक्ष हवाई उडानमार्फत जनस्तरको सम्बन्ध अझ प्रगाढ बनाउन आवश्यकतामाथि पनि छलफल भएको छ । प्रधानमन्त्री मोदीले छिट्टै भारत–चीनबीच प्रत्यक्ष उडान सुरु हुने बताएका छन्, तर सुरु हुने मितिबारे जानकारी भने दिएका छैनन् । कोभिड महामारीपछि दुई देशबीच प्रत्यक्ष उडान स्थगित रहँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्