काठमाडौं – चीनको थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा आजदेखि शांघाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलन सुरु भएको छ । सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
भदौ १४ गते चीन पुगेका प्रधानमन्त्री ओलीले सम्मेलनमा भाग लिँदै विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकारप्रमुखसँग भेटवार्ता गर्दै आएका छन् । आजै उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु र लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेट गर्ने तयारी गरिएको छ ।
आइतबार भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग रात्रिभोजको अवसरमा ओलीको अनौपचारिक भेटवार्ता भएको थियो । सन् २००१ मा स्थापना भएको शांघाई सहयोग संगठनमा हाल चीन, काजकस्तान, किर्गिस्तान, ताजिकिस्तान, उजबेकिस्तान, रुस, भारत, पाकिस्तान, इरान र बेलारुस गरी १० देश सदस्य छन् । नेपाल सन् २०१६ देखि यस संगठनको संवाद साझेदार बनेको हो । भदौ १५ र १६ गते हुने यो सम्मेलनमा नेपालबाट उच्चस्तरीय सहभागिता भएको यो पहिलोपटक हो । सम्मेलनमा राजनीति, अर्थतन्त्र र सुरक्षासम्बन्धी महत्वपूर्ण विषयमा छलफल भइरहेको छ ।






