कैलाली – चिकित्सा शिक्षा सुधारका लागि निरन्तर सत्याग्रह गर्दै आएका डा. गोविन्द केसीले आइतबारदेखि कैलालीको गेटामा पुनः सत्याग्रह सुरु गरेका छन्।
गेटा अस्पतालमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले तीनदिने सत्याग्रह सुरु गरेको घोषणा गरेका हुन्। यसअघि पनि गेटा मेडिकल विश्वविद्यालय सञ्चालनका मागमा उनले तीनपटक सत्याग्रह गरिसकेका थिए।
यसपटक डा. केसीले चार बुँदे माग अघि सारेका छन्। तीमध्ये प्रमुख माग गेटास्थित सहिद दशरथ चन्द चिकित्सा शिक्षा विश्वविद्यालयलाई तत्काल सञ्चालनमा ल्याउनु र त्यहाँ पदाधिकारी नियुक्त गर्नु रहेको छ। उनले विश्वविद्यालयका लागि करिब ६ अर्ब ६८ करोड रुपैयाँ खर्चेर बनेका भवन पाँच वर्षसम्म प्रयोगमा नआउँदा जीर्ण बन्न थालेको भन्दै तत्काल विश्वविद्यालय सञ्चालनको आवश्यकता औंल्याए।
त्यस्तै, निजी मेडिकल कलेजको सिट संख्या वृद्धि गर्ने हालसालैको निर्णय खारेज गर्न, विगतका सम्झौताअनुसार इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज खोल्नुपर्ने माग पनि गरेका छन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको हस्तक्षेपका कारण चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजलाई १३० सिट दिने गैरजिम्मेवार निर्णय गरेको आरोप लगाए। “त्रिवि शिक्षण अस्पतालजस्तो ठुलो संस्थानले पनि सय जना विद्यार्थी पढाउन हिचकिचाइरहेको अवस्थामा पूर्वाधार न्यून भएका निजी कलेजलाई सिट वितरण गर्नु दुर्भाग्यपूर्ण छ,” डा. केसीले भने।
चिकित्सा शिक्षा सुधारसँगै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा पनि आवाज उठाएका छन्। उनले भारतसँग वार्ता गरेर अतिक्रमित नेपाली भूमि लिपुलेक फिर्ता ल्याउन सरकारसँग माग गरे। साथै, युक्रेन र गाजामा भइरहेको युद्ध तत्काल बन्द गर्न रुस र इजरायलसँग अपिल गरे।
चिकित्सा क्षेत्र सुधारको निरन्तर अभियानका क्रममा डा. केसीको यो २३औँ सत्याग्रह हो।






