काठमाडौँ उपत्यकाका विस्तारित सडक निर्माण शुरु

File photo

काठमाडौं – कोभिड–१९ को जोखिम हुन नदिन जारी ‘लकडाउन’ पछि रोकिएका काठमाडौँ उपत्यकाका विस्तारित सडक निर्माण शुरु भएको छ । कतिपय सडकमा कालोपत्र त कतिपयमा आवश्यक संरचना निर्माण थालिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

ढोहाहिटी–लेले, कर्मनाशा खोला–गोदावरी कुण्ड, इमाडोल–लामाटार र जोरपाटी–सुन्दरीजल सडकमा निर्माण शुरु भएको हो । यी सडकमा रुख काट्ने, ह्विमपाइप हाल्ने, पर्खाल र पैदल यात्रु मार्ग निर्माणगायतका काम भइरहेको आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिए । निर्माण सामग्री र जनशक्ति उपलब्ध सडकमा नै निर्माण अघि बढिरहेको उनले बताए । उनले भने, ‘धेरै जनशक्ति नचाहिने र उपलब्ध सामग्रीबाटै गर्न सकिने काम भइरहेको छ ।’

चापागाउँ–ढोलाहिटी सडकमा दुईवटा ठेक्कामध्ये एउटामा काम भइरहेको र अर्कोमा नभएको आयोजनाले जनाएको छ । टाखेलबाट लेलेसम्मको खण्डमा अहिले आवश्यक पूर्वाधार निर्माण भइरहेको उनले बताए । यहाँ सडक निर्माणका लागि भित्ता खन्ने र आवश्यक स्थानमा पुर्ने काम भइरहेको छ । यो वर्ष लक्षित गरिएको जति भने गर्न नसकिने उनले बताए । उनले भने, ‘उपलब्ध जनशक्ति र साधनले जति सम्भव हुन्छ त्यति नै काम भइरहेको हो ।’

सुन्दरीजल–जोरपाटी सडकमा दुईवटा ठेक्कामध्ये दुवैमा काम भइरहेको छ । यो सडकमा पनि संरचना निर्माणकै काम बढी भइरहेको छ । यहाँ रुख हटाउने, हिमुपाइप राख्ने, पैदल यात्रु मार्ग निर्माणलगायतका काम अघि बढेको प्रमुख अधिकारीले बताए । यस सडकमा ६७ रुख हटाउनुपर्ने भए पनि अहिलेसम्म ५८ रुख मात्रै हटाइएको छ । नौ रुख विद्युत्को तारका कारण हटाउन सकिएको छैन । रुख हटाउनका लागि विद्युत् प्राधिकरणलाई पत्राचार गरिएकामा प्राधिकरणले ‘सट डाउन’ गर्नुपर्ने भए पनि अहिले गर्न नसकिने बताएको थियो । उनले भने, ‘अहिले लकडाउनका समयमा धेरैले अनलाइन कक्षा सञ्चालन गरिरहेकाले सट डाउन गर्न नसकिने प्राधिकरणले भनेको छ ।’

निर्माणाधीन इमाडोल–लामाटार सडकमा तीन ठेक्कामध्ये अहिले दुई ठेक्कामा काम भइरहेको छ । यो सडकमा पनि ह्विमपाइप बिच्छाउने काम भइरहेको छ भने गोदावरी सडकमा पैदलयात्रु मार्ग निर्माणकै काम भइरहेको छ ।

अहिले भइरहेकै सामग्री र जनशक्तिबाट निर्माण भइरहे पनि जनशक्ति र निर्माण सामग्री थप्न सकिने अवस्था छैन । डिभिजन सडक कार्यालय काठमाडौँले ‘ओभर ले’ शुरु गरेकामा अहिले निर्माण सामग्री नहुँदा निर्माण अघि बढिरहेको छैन । विस्तारित सडकमा पनि सडक पूर्णरुपमा काम गर्न निर्माण सामग्रीको अभाव रहेको छ । ललितपुरको लेले र काभ्रेपलाञ्चोकको दोलालघाटबाट निर्माण सामग्री ल्याइने गरेकामा अहिले सामग्री ल्याउन नसकिएको प्रमुख अधिकारीले बताए ।

त्यस्तै, कतिपय जनशक्ति पनि काम नहुँदा केही समय पहिले घर फर्किएका थिए । उनले भने, ‘काठमाडौँमै रहेका कामदारलाई काम लगाए पनि अहिले जिल्लाबाट ल्याउन सकिने अवस्था छैन ।’ आयोजनाले चालु आवमा झण्डै आठ किमी सडक कालोपत्र र २५ किमी सडकमा पूर्वाधार निर्माण गर्ने लक्ष्य रहेको थियो । आंशिकरुपमा काम भइरहे पनि लक्ष्यअनुसार गर्न नसकिने उनले बताए । शुरु भएका ठेक्कामा पनि निर्माण सामग्रीको अभावसँगै यातायातको पनि समस्या रहेको छ । उनले भने, ‘हामीलाई आवश्यक मात्रामा पास उपलब्ध भइरहेको छैन ।’

सरकारले विसं. २०७२ मा उपत्यकामा १० सडक विस्तार शुरु गरेको थियो । आयोजनाले काठमाडौँमा चार, ललितपुरमा पाँच र भक्तपुरमा एउटा सडक र दुई पुलको निर्माण शुरु गरेको थियो । तीमध्ये त्रिपुरेश्वर–कङ्की–नागढुङ्गा सडक निर्माण सम्पन्न भएर आवश्यक मर्मतको काम भइरहेको छ । चाबहिल–साँखु सडकमा पनि थोरै सडक मात्रै कालोपत्र बाँकी छ । निर्माणाधीन दुई पुलमध्ये बिजुलीबजारस्थित धोबीखोला पुल केही महिना पहिले नै निर्माण सम्पन्न भएर सञ्चालनमा छ भने तीनकुनेस्थित वाग्मती पुल अझै अलपत्र अवस्थामा छ ।

पहिले साबिक छ÷सात मिटरसम्म चौडाइ रहेको सडकलाई २० देखि २२ मिटर चौडा बनाउने गरी ठेक्का सम्झौता भएको थियो । त्यतिबेला निर्माणस्थल खाली गराउँदै काम गर्ने भन्दै सरकारले ठेक्का सम्झौता गरेको थियो । तर अहिलेसम्म पनि कतिपय स्थानमा निर्माणस्थल खाली हुन सकेको छैन ।

विस्तारका क्रममा रहेका अधिकांश स्थानमा सडकसँगै घर भएका स्थानीयवासीले सरकारसँग घर र जग्गा दुवैको मुआब्जा मागेका छन् । सडकलगायत कुनै पनि पूर्वाधार निर्माण गर्दा जग्गाको मुआब्जा दिने नियम छैन । मुआब्जा विवादसँगै सडकमा रहेका रुख, बिजुलीको खम्बालगायत संरचना हटाउन लामो समय लागेकाले पनि ढिलाइ भएको आयोजनाले बताउँदै आएको छ । – रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्