अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन- अध्यक्ष ओली

File Photo

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका लागि गरिएको गठबन्धन नभएको बताएका छन्। नेकपा एमाले झापाको ११ ‍औं जिल्ला अधिवेशनको बिहीबार विर्तामोडमा उद्घाटन गर्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए।

सरकारमा सामेल दलहरू मुलुकको समृद्धिप्रति प्रतिबद्ध भएको पनि उनले बताए। समीकरणमा सामेल दलहरूले जारी गरेको साझा संकल्पको सातौं बुँदामा समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार पार्ने सरकारको गन्तव्य प्रस्ट उल्लेख रहेको उनले स्मरण गराए। उनले यसअघि नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धनको नेकपा एमालेलाई जसरी पनि घेराबन्दी गर्ने लक्ष्य रहेको दाबी गरे।

नेकपा एमाले र नेपाली कांग्रेसबीच समीकरण बन्न नसक्ने स्पष्ट पार्दै उनले स्वस्थ राजनीतिक प्रतिस्पर्धा हुनुपर्ने धारणा व्यक्त गरे।

‘अमेरिकामा हेर्नुहोस्, त्यहाँ दुई पार्टी छन्,’ उनले भने, ‘चार वर्षमा चुनावी प्रतिस्पर्धा गर्छन्। दुवै दल मिलेर सरकार चलाएको त्यहाँ कुनै उदाहरण छैन।’ उनले महाभारतयुद्धमा अर्जुनले चराको आँखालाई अर्जुनदृष्टि बनाएझैं एमालेले अरू सबै कुरा छाडेर भए पनि ‘मिसन ८४’ लाई हेरिरहेको बताए। २०८४ सालको आम चुनावमा एमालेले कसैले ढाल्न नसक्ने गरी एकल बहुमतको सरकार बनाउन चाहेको स्पष्ट पारे।

एमालेले कहिल्यै पनि निषेध, हिंसाको राजनीति नगर्ने धारणा व्यक्त गरे। रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्