माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा प्रचण्डका भाई नारायण दाहाललाई उम्मेदवार उठाउने

काठमाडौँ  – नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार उठाउने भएको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार उठाउने निर्णय गरेको अर्थमन्त्री समेत रहेका उपमहासचिव वर्षमान पुनले जानकारी दिए। उनी राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सांसद हुन्। नारायण दाहाल ०७८ मा राष्ट्रिय सभा सदस्य मनोनित भएका थिए।

राष्ट्रिय सभाको अध्यक्षमा दाहालसँगै अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्याल र झक्कु सुवेदी पनि आकांक्षी थिए। दाहालले आफूलाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउनुपर्ने भन्दै माओवादी केन्द्रका सबै पदाधिकारीहरूसँग लबिङ गरेका थिए। दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ समेत हुन्।

यसअघि बसेको स्थायी कमिटी बैठकले दाहाललाई बागमती प्रदेशको सह-इन्चार्ज बनाउने निर्णय गरेको थियो। तर उपमहासचिव जनार्दन शर्माले विरोध गरेपछि त्यो निर्णय सार्वजनिक नै भएन। तर आइतबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्यो भन्दा अति नै महत्वपूर्ण मानिएको राष्ट्रिय सभा अध्यक्षमा उनलाई उम्मेदवार बनाउने निर्णय गरे।

अहिलेको गठबन्धनको समीकरण अनुसार दाहाल राष्ट्रिय सभा अध्यक्ष बन्ने निश्चित जस्तै छ। दाहालको पक्षमा अध्यक्ष प्रचण्डमात्रै थिए भने उपमहासचिव वर्षमान पुन लगायत नेताहरूको समर्थन झक्कु सुवेदीलाई थियो। रोल्पाका सुवेदी गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा विजयी भएका हुन्। शनिबार बसेको माओवादीको स‌ंसदीय दलको बैठकमा पनि अधिका‌ंस सा‌ंसदहरूले ६ वर्ष कार्यकाल भएका सांसदलाई नै राष्ट्रिय सभा अध्‍यक्षको उम्मेदवार बनाउनुपर्ने मत राखेका थिए। त्यसमा अध्यक्ष प्रचण्डको सकारात्मक प्रतिक्रिया समेत थियो।

तर निर्णय भने अब चार वर्षमात्रै कार्यकाल रहेका दाहालको पक्षमा आयो।

माओवादीले दाहाललाई उम्मेदवार उठाएसँगै गठबन्धनबाट उपाध्यक्षमा एमालेले महिला उम्मेदवार उठाउनुपर्नेछ। गत सोमबार सत्ता गठबन्धनका चार दलबीच भएको आठ बुँदे सहमतिमा राष्ट्रिय सभाको उपाध्यक्ष एमालेले पाउने उल्लेख छ। यो सहमति कार्यान्वयन भए अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्यालले राजीनामा दिनुपर्नेछ। उर्मिला २०७९ साल माघमा राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा सांसद युवराज शर्मालाई उठाउने निर्णय गरेको छ। राष्ट्रिय सभाको निर्वाचन फागुन २९ गते हुँदैछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्