स्व .मीन कुमारी राणा प्रतिष्ठानद्वारा नेपाल, न्यौपाने र थापा पुरस्कृत

काठमाडौँ – स्व .मीन कुमारी राणा प्रतिष्ठानले विभिन्न क्षेत्रका तीन जनालाई सम्मान पुरस्कृत गरेको छ । स्व. राणाको दोस्रो पुण्य तिथिका अवसरमा बिहीबार राष्ट्रपति कार्यालयमा आयोजना गरिएको एक समारोहमा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट वरिष्ठ पत्रकार किशोर नेपाललाई राष्ट्रिय पत्रकारिता पुरस्कार सम्मान , पूर्व सांसद लेखनाथ न्यौपानेलाई प्रजातन्त्र सेनानी पुरस्कार र राष्ट्रिय बक्सिङ खेलाडी तथा प्रशिक्षक प्रकाश थापा मगरलाई राष्ट्रिय खेलकुद पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

उनीहरूलाई नगद राशि जनही ५१ हजार सहित दोसल्ला र सम्मान पत्रबाट सम्मान गरिएको हो । त्यसै गरी भक्तपुर स्थित आदर्श माध्यमिक विद्यालयलाई गत वर्ष जस्तै यस वर्ष पनि प्रतिष्ठानको तर्फ बाट ५१ हजार छात्रवृत्ति प्रदान गरिएको थियो । समारोहमा प्रतिष्ठानका सल्लाहकारहरू प्रा डा ध्रुवचन्द्र गौतम , वरिष्ठ पत्रकार द्वय हरिहर विरही र माथवरसिंह बस्नेतलाई पनि सम्मान गरिएको थियो ।

देशान्तरकर्मी मुक्तिवाबु रेग्मीले प्रतिष्ठानबारे संक्षिप्त जानकारी गराएको कार्यक्रममा प्रतिष्ठानका महासचिव रवि राणाले स्वागत मन्तव्य सहित कार्यक्रमबारे प्रकाश पारेका थिए । प्रतिष्ठानका संरक्षक समेत रहेका कोमल विक्रम राणा उपस्थित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवम् कार्यक्रममा सभापति कविर राणाले प्रतिष्ठानको स्थापना उद्देश्य र प्रजातन्त्र सेनानी समेत रहेकी आमाबारे बोल्दै आज राणा परिवार यो हैसियत र प्रतिष्ठान स्थापना गर्न सफल हुनुमा उनैको देन रहेको स्मरण गरे । उनले आमाको जन्म देखी वैवाहिक , पारिवारिक, हिरासतको यात्रा र राजनीतिक योगदानबारे पनि चर्चा गरे । उनले आमाकै प्रेरणाका कारण आफू र आफ्नो परिवार लोकतन्त्रका लागि निरन्तर लड्दै आएको बताए ।

संस्थाको सल्लाहकार र पुरस्कार सिफारिस समितिका सदस्य को तर्फबाट मन्तव्य व्यक्त गर्दै वरिष्ठ पत्रकार विरहीले स्वर्गीय मीनकुमारी राणा सामाजिक तथा आध्यात्मिक कार्यमा अभिरुचि राख्ने हक्की र निडर स्वभावकी भएको स्मरण गर्दै परोपकार र सेवाभाब उनको अर्को विशेषता रहेको चर्चा गरे । आमाकै प्रेरणा र दीक्षाबाट प्रतिकूल परिबेसमा पनि विचलित नभई सामाजिक , सांस्कृतिक तथा राजनीतिक क्षेत्रमा समर्पित भएर राणा परिवार लागेको विरहीले बताए । उनले पुरस्कृत त्रय अत्यन्त उत्तम पात्रहरू रहेको बताए ।

यसै गरी कार्यक्रमका अर्का वक्ता भक्तपुरबाट निर्वाचित नेपाली काँग्रेस सांसद दुर्लभ थापाले स्व मीन कुमारी राणा राणाकालीन समयमा राणा परिवारमा नै रहेर पनि लोकतन्त्र प्राप्तिका लागि पुराएको योगदान अतुलनीय रहेको बताए । उनको नाममा प्रतिष्ठान स्थापना गरेर महत्त्वपूर्ण कार्य गरिरहेको भन्दै राणा परिवारको प्रशंसा गरे । थापाले राणा परिवारले देश, समाज र नेपाली काङ्ग्रेस प्रति पु¥याएको योगदानको जति नै चर्चा गरे पनि कम हुने बताए ।

पुरस्कृतहरुको तर्फबाट बोल्दै बरिष्ठ पत्रकार नेपालले पुरस्कार तथा सम्मान पाएकोमा गौरव लागेको भन्दै आफ्नो सम्पादकीय अभिभावकत्वमा रहेर देशान्तर साप्ताहिक मार्फत पत्रकारिता पेशामा पाइला टेकेका कविरले अहिलेसम्म देशान्तर साप्ताहिकलाई निरन्तरतामात्रै नदिएको प्रभावकारी संचार संस्थाका रुपमा स्थापित पनि गराएको बताए ।

कार्यक्रममा लिखित मन्तव्य राख्दै प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र बलियो बनाउन , लोकतान्त्रिक संस्कारलाई प्रवर्द्धन गर्न र समाजलाई जागरूक गराउन प्रतिष्ठानले गरेका कार्यहरू सह्रानिय भएको बताए । उनले सम्मानित र पुरस्कृत ब्यक्तित्वहरुलाई बधाई र शुभकामना दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्