राजकीय सम्मानका साथ नेम्वाङकाे अन्त्येष्टि

काठमाडौँ  – संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएकाे छ । नेम्वाङकाे आज बिहीवार दिउँसाे पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।

नेम्वाङकाे पार्थिव शरीरमा उनका जेठाे छाेरा मेङ्साे र कान्छाे छाेरा सुहाङले दागबत्ती दिएका थिए । दागबत्ती दिनुअघि नेपाली सेनाको एक टुकडीले नेम्वाङप्रति सलामी अर्पण गरेको थियो । नेम्वाङकाे पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीकाे झण्डा ओढाएर सम्मान गरे । नेम्वाङको हिन्दू र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको हाे ।

अन्त्येष्टिअघि नेम्वाङको शवयात्रा गरिएकाे थियाे । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा गरेकाे हाे । उहाँको निजी निवास बालुवाटारबाट शुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुर्‍याइएकाे थियाे ।

गएको मङ्गलवार बिहान हृदयाघातबाट नेम्वाङकाे ७१ वर्षकाे उमेरमा निधन भएकाे थियाे । सरकारले नेम्वाङकाे निधनकाे शाेकमा आज सार्वजनिक बिदा दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्