प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा के-के भयो कुराकानी?

काठमाडौँ – सदनको अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच कुराकानी भएको छ।

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच शुक्रबार बिहान बालुवाटारमा छलफल भएको हो। बिहान ९ बजे भएको छलफलमा सभामुख घिमिरेले सदन सञ्चालन हुन नसक्दा प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा सांसदहरूले बोल्न नपाएको गुनासो बढेको बताएका थिए।

‘सदन नचल्नु राम्रो भएन। माननीयहरूले बोल्न समय माग्नुभएको छ। प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा माननीयहरूले बोल्न पाइनँ भन्नुहुन्छ। सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन। आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन्,’ सभामुखको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भन्यो, ‘कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस्। समितिको नेतृत्व चयन हुन सकेको छैन। संसदमा कानून निर्माण भएनन् भन्ने गुनासो छ।’

सभामुखको रूपमासहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको तर, परिणाममा निस्किन नसकेको बारे पनि सभामुखले बताएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

‘शीर्ष नेताहरू नै घण्टौं बस्दा पनि सहमति भएन,’ सभामुखले प्रधानमन्त्री प्रचण्डलाई भनेका थिए।

जवाफमा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष कुराकानी गर्ने बताएको सभामुखको सचिवालयको भनाइ छ।

‘म पनि सदन खुलाउन भूमिका खेल्छु। तपाईं पनि लाग्नुहोस्। छिट्टै सहमति गर्नैपर्छ। म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्र्दै सभामुखको सचिवालयले भन्यो। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट ब्रेक सुभित्र सुन लुकाएर ल्याएको अवस्थामा बरामद भएपछि त्यसो प्रकरणको उच्चस्तरीय समिति बनाएर छानबिनको माग गरेको छ। उसले साउन १० गतेदेखि संसद् अवरूद्ध गर्दै न्यायिक जाँचबुझ समितिको माग गरिरहेको छ। तर, सरकारले राज्यका निकायले जाँचबुझ गरिरहेकाले यसैलाई विश्वास गर्नुपर्ने अडान राख्दै आएको छ। सत्ता र प्रमुख प्रतिपक्ष अडानमा यथावत् रहँदा संसद् नियमित कार्यसूचीमा अघि बढ्न सकेको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्