मलेशियाबाट आएको नेपाल एयरलाइन्सको जहाज भैरहवामा अवतरण

काठमाडौँ – नेपाल वायुसेवा निगमको जहाज मंगलबार मलेशियाबाट भैरहवा अवतरण गरेको छ। राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको जहाज मंगलबार पहिलोपटक मलेशियाबाट भैरहवा अवतरण गरेको हो।

१ सय ५८ सिट क्षमताको निगमको नाइन एन एकेएक्स कल साइन भएको न्यारोबडी जहाज मंगलबार बिहान पौने ९ बजे भैरहवा अवतरण गरेको हो। विमानमा ९७ जना यात्रु मलेशियाबाट आएकामा ३१ जना भैरहवामा उत्रिएका थिए। बाँकी काठमाडौंमा झरे।

निगमले पहिलोपटक मलेशिया–भैरहवा उडान सुरू गरेपछि पर्यटनमन्त्री सुदन किराती आफैँ यात्रुहरूको स्वागतका लागी भैरहवा गएका थिए। मलेसियाबाट आएका यात्रुहरूलाई भैरहवा अवतरण गराएर उक्त जहाज काठमाडौं आउने छ। भैरहवा आएका मलेशियाका पर्यटन व्यवसायीहरू भने लुम्बिनी भ्रमण गरी काठमाडौं हुँदै मलेशिया फर्किने बताइएको छ। निगमले जेठ पहिलो साता मलेशिया–भैरहवा उडानको घोषणा गर्दै सुरूमा प्रवर्द्धनात्मक हवाई भाडा ११ हजार रूपैयाँ घोषणा गरेको थियो।

अहिले मलेसिया–भैरहवा ३१ हजार र मलेशिया काठमाडौं ५६ हजार रूपैयाँ दरमा एकतर्फी टिकट बिक्री गरिरहेको निगमले जनाएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। जग्गा अधिग्रहण समेत गरी ३० अर्ब हाराहारी रूपैयाँ लगानीमा बनेको मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षसम्म व्यावसायिक उडानका लागि कम्पनीहरूले चासो नदिएपछि व्यवसायी चिन्तित छन्।

यसअघि नेपाल वायुसेवा निगमको न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यावसायिक उडान गर्नेमा कुबेतको जजिरा एयरलान्स मात्रै रहेको थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्