सम्पत्ति विवरण लुकाएर पञ्चायतकालीन अवस्थामा फर्किंदै प्रचण्ड सरकार

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबहाली गरेको पाँच महिनाभन्दा बढी भयो । तर, उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

प्रधानमन्त्री दाहालसहित १६ जना मन्त्रीको सम्पत्ति विवरणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘वेबसाइट’मा सम्पत्ति विवरण प्राप्त भएको उल्लेख छ । तर, सम्पत्ति कति छ भन्ने सार्वजनिक भएको छैन ।

नौजना मन्त्रीले त अहिलेसम्म सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएकै छैनन् । त्यसरी नबुझाउनेमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, खानेपानीमन्त्री महिन्द्रराय यादव, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्य रहेका छन् ।

त्यस्तै, वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई, शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पनि आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् । सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यसरी प्राप्त सम्पत्ति विवरण हेर्न पाउनेगरी सार्वजनिक गर्नुपर्नेमा सो विवरण गोप्य राखिएको छ ।

यदि, सम्पत्ति विवरण सार्वजनिक गरिदिने हो भने यसअघि प्रधानमन्त्री हुँदा भएको सम्पत्ति र अहिलेको सम्पत्ति कति बढ्यो वा घट्यो भने आमनागरिकले जाँच्न पाउँथे । तर, प्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति गोप्य राख्दा नागरिकमा आशंका बढेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्