लयमा फर्कंदै हेलम्बुको पर्यटन

सिन्धुपाल्चोक – विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिको कोरोना महामारीका कारण शिथिल बनेको हेलम्बुको पर्यटन क्षेत्र लयमा फर्किन थालेको छ।

भूकम्पले पु¥याएको क्षतिको पुनर्निर्माण करिब करिब सकिएको छ। अहिले कोरोना महामारीको त्रास पनि छैन। निर्माणाधीन ग्रेट ट्रेल, हिमाली दृश्यलगायत ह्योल्मो, शेर्पा, तामाङ जातिको रीतिरिवाज, वेशभूषा, रहनसहन, कला संस्कृतिका कारण यस क्षेत्रमा पर्यटक आगमन बढेको हो। यस क्षेत्रका आमा याङ्ग्री, मेलम्चीघ्याङ, तार्केघ्याङ, शेर्माथाङ, ककनी, कुटुमसाङ, घोप्टोघ्याङलगायत हेलम्बुमा आन्तरिक र बाह्य पर्यटक भित्रिन थालेका हुन्।

चीनको गे्रट वालको झल्को दिने ६० किलोमिटरमा निर्माणाधीन हेलम्बुको यो ग्रेट ट्रेलले हेलम्बुको पहिचान फेरिएको छ। गे्रट टे«ल घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दो छ। उक्त ग्रेट ट्रेलमा वार्षिक १० लाख पर्यटक भित्र्याउने लक्ष्य हेलम्बु गाउँपालिकाले राखेको छ।

उक्त ग्रेट ट्रेल निर्माणमा हालसम्म नौ करोड रुपियाँ लगानी भइसकेको र केन्द्रीय र बागमती प्रदेश सरकारले बजेट विनियोजन गर्ने सो गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो। निर्माणाधीन गे्रट ग्रेट ट्रेलले पाकीडाँडा, गोसाइँकुण्डनजिकै, भिमाथाङ, ढुक्पु, आमा याङ्ग्री, शेर्माथाङ हुँदै बुद्ध पार्कसम्म समेट्छ। गे्रट ट्रेलबाट हिमाली शृङ्खला, लेकाली बस्ती, दर्जनौँ गुम्बा एवं धार्मिक स्थल तथा प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ।

समुद्री सतहबाट दुई हजार चार सयदेखि पाँच हजार मिटरसम्मको उचाइ रहेको गे्रट टे«ल छिचोल्न नौ दिन लाग्छ। यस अवधिमा ह्योल्मो, तामाङ, शेर्पा समुदायको कला, संस्कृति अवलोकन गर्न सकिन्छ। ‘माउन्टेन फ्लाइट’ मार्फत देखिने मध्य तथा पूर्वी क्षेत्रका हिमालमध्ये ८० प्रतिशत हिमाल उक्त ट्रेलबाट देख्न सकिन्छ। ट्रेलमा पर्ने पाकीडाँडाबाट सगरमाथाको चुचुरो देख्न सकिन्छ। ट्रेलको सेमिसिधाङबाट गोसाइँकुण्ड एक किलोमिटर दूरीमा पर्छ। हालसम्म तीन किलोमिटर ग्रेट ट्रेल निर्माण भएको छ। ट्रेल निर्माण सम्पन्न गर्न चार अर्ब रुपियाँ लाग्ने अनुमान छ। सङ्घ र प्रदेशले बाँकी बजेट दिनुपर्ने अध्यक्ष शेर्पाले बताउनुभयो।

 

हेलम्बु गाउँपालिकाले ग्रेट ट्रेल निर्माणका लागि वार्षिक एक करोड रुपियाँभन्दा बढी लगानी गर्न नसक्ने तथा शिक्षा, स्वास्थ्य, सडकको पैसा ट्रेलमा हाल्न नसकिने जनाएको छ। “सङ्घीय सरकारले बहुवर्षीय आयोजनाका रूपमा वार्षिक ५० करोड रुपियाँ विनियोजन गरिदिए ट्रेल निर्माण छिटो सम्पन्न हुने थियो,” अध्यक्ष शेर्पाले भन्नुभयो। यसका लागि सङ्घीय सरकारसँग आग्रह गरिरहेको उहाँले बताउनुभयो। ग्रेट ट्रेल हेलम्बुका लागि मात्रै नभएर देशकै लागि भएको र समयमा निर्माण सम्पन्न भए मुलुक समृद्ध हुने शेर्पाको तर्क छ।

हेलम्बु गाउँपालिका सुन्दर, रमणीय जुगल हिमालको सन्निकट याङ्ग्रीको काखमा रहेको छ। मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान हेलम्बुमै पर्छ। काठमाडौँको जोरपाटीदेखि साँखु हुँदै ५५ किलोमिटर र सुन्दरीजल हुँदै ५० किलोमिटर दूरीमा छ। कच्ची सडक भएका कारण जोरपाटी र सुन्दरीजलबाट ग्रेट ट्रेल पुग्न सवारी साधनबाट चार घण्टा लाग्छ । सडक कालोपत्रे हुने हो भने राजधानीबाट हेलम्बुको ग्रेट ट्रेल पुग्न साढे दुई घण्टा लाग्छ। कुनै बेला विदेशी पर्यटकको हेलम्बुमा बाक्लो उपस्थिति हुन्थ्यो। पदयात्राबाटै विदेशी पर्यटक राजधानीबाट साँखु, सुन्दरीजल हुँदै हेलम्बु पुग्थे। यो समाचार गोरखापत्र दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्