सरकारले चैतमा महिनामा मात्र गर्‍यो साढे ३३ अर्ब रकमान्तर

काठमाडौं – चालु आर्थिक वर्षको चैत महीनामा मात्र सरकारले करीब साढे ३३ अर्ब रूपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महीनामा पुँजीगततर्फ रू। १ करोडभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’ अनुसार रू। ३३ अर्ब ३४ करोड ४५ लाख ८१ हजार बराबर रकमान्तर भएको हो ।

यो अवधिमा अर्थ मन्त्रालयले रू। २७ अर्ब बराबर आन्तरिक ऋण तिर्नका लागि रकमान्तर गरेको छ । यो रकम अर्थ विविध शीर्षकबाट निकासा दिइएको छ । त्यस्तै अर्थ विविध शीर्षकबाटै गण्डकी प्रदेश प्रमुखको कार्यालयको चालु खर्चका लागि रू। २८ लाख ४३ हजार बराबर थप निकासा दिइएको छ ।

संघीय संसद् सचिवालका कर्मचारी, सुरक्षाकर्मी र पदाधिकारीका स्वकीय सचिवालयका कर्मचारीका लागि अतिरिक्त समय भत्ताका रूपमा रू। ५० लाख निकासा दिइएको छ । लोकसेवा आयोगलाई रू।४ करोड ३३ लाख, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका लागि रू। ६ करोडका बराबर निकासा दिइएको छ ।

चैत महीनामा दुई ओटा योजना तथा कार्यक्रमका लागि बहुवर्षीय ठेक्काको स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत ललितपुरको गोदावरीमा राष्ट्रिय ‘हरवोरियम’ भवन निर्माणका लागि रू। ४० करोड ५० लाख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सामाखुसी(टोखा(गुज्रे सडक आयोजनाका लागि रू। ७ करोड ६२ लाख बराबर स्रोत सहमति दिइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बूढीगण्डकी जलविद्युत् आयोजनाको रू। १९ करोड रकमान्तर गरेर नदी नियन्त्रण आयोजनाका लागि दिएको छ । त्यसैगरी पालुङटार(कुण्डुटार सिँचाइ आयोजनाको रू। ३ करोड ६४ लाख र सिँचाइ पुनःस्थापना आयोजनाको रू। ३ करोड ९० लाख बराबर रकमान्तर गरेर नदी नियन्त्रण आयोजनाका लागि दिइएको छ ।

बूढीगण्डकी जलविद्युत् आयोजनाको रू। २१ करोड रकमान्तर गरेर बृहत् सरकारी सिँचाइ योजनाको पुनःस्थापना तथा व्यवस्थापन कार्यक्रमका लागि र रू। २५ करोड रकमान्तर गरी सुनसरी(मोरङ आयोजनालाई दिइएको छ । बूढीगण्डकीकै रू। २० करोड समृद्ध तराई(मधेश सिँचाइ विशेष कार्यक्रमका लागि र रू। ६ करोड भूमिगत स्यालो ट्युबवेल कार्यक्रमका लागि दिइएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्