राष्ट्रपतिका लागि आ-आफ्नै ढंगले मत माग्दै ‘दुई चन्द्र’

काठमाडौं – राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा राष्ट्रपति पदको उम्मेदवारी दिएका ‘दुई चन्द्र’ रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले मत माग्ने कार्यलाई तीव्र बनाएका छन् । गत १३ गते उम्मेदवारी दर्ता गराएसँगै अन्तरपार्टी नेता तथा सांसदहरूसँग उनीहरूले आ–आफ्नै ढंगले मत मागिरहेका छन् ।

कांग्रेस–माओवादीसहितको आठ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरूलाई पत्र पठाएर मतदान गर्न आह्वान गरे । त्यस्तै, उनले दलका शीर्ष नेताहरूसँगको भोटघाटलाई समेत निरन्तरता दिँदै आएको पौडेको सचिवालयले जनाएको छ । राष्ट्रपति निर्वाचनका लागि मत माग्दै बिहीबार आयोजित आठ दलका सांसदहरूको अभिमुखीकरण कार्यक्रममा पौडेलको पत्र बाँडिएको छ ।

उक्त पत्रमा उनले सानैदेखि संघर्ष थालेको बताउँदै यसअघि सत्तामा हुँदा आफू कहीँ कतै नचुकेको पनि जिकिर गरे । उनले शान्ति वार्ता र संविधान निर्माणका क्रममा जनताको मानवअधिकार, स्वतन्त्रता, दिगो शान्ति, आर्थिक सामाजिक न्याय र समुन्नतिलाई हृदयमा राखेर संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने कुरालाई उद्देश्य बनाउँदै आएको बताए ।

उनले भनेका छन् –‘सबै धर्म, संस्कृति, जात, वर्ग, लिङ्ग र समुदायको अधिकारको प्रत्याभूति रहेको वर्तमान संविधानको अक्षर र मर्मको परिपालना गर्दै परिवर्तनको जर्गेना गर्ने अठोटका साथ नेपाल राष्ट्रको राष्ट्रपतिको गरिमामय पदको लागि उम्मेदवारको रूपमा उपस्थित छु । नेपाली जनताका प्रिय प्रतिनिधि तपाईंको अमूल्य मतको अपेक्षा गरेको छु ।’ समाजवादको सार ‘निमुखालाई न्याय र विपन्नलाई आय’ सबैको साझा सिद्धान्त हुनसक्ने पनि उनले उल्लेख गरे ।

त्यस्तै, नेकपा एमालेले पनि मनोनयन दर्ताकै दिन नेपाली कांग्रेसबाहेकका दलहरूलाई आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिन आग्रह गर्दै पत्र पठाएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा पठाइको पत्रपछि उम्मेदवार नेम्वाङ दलका नेताहरूसँग मत माग्न आफैं धाइरहनुभएको छ । उहाँले बिहीबार रास्वपाको पार्टी कार्यालयमै पुगेर उक्त दलका सभापतिसमेतका नेताहरूसँग मत मागे । एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहित एमाले प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराईलगायतका नेताहरूले लामिछानेलाई भेटेर राष्ट्रपतिमा नेम्वाङलाई मत दिन आग्रह गरेको हो । यद्यपि, नेम्वाङले सांसदहरूलाई भने भटेका छैनन् । उक्त दलले सांसदहरूलाई राष्ट्रपति निर्वाचनमा मतदान गर्दा कुनै उम्मेदवारका पक्षमा ह्विप जारी नगरी स्वैच्छामा छाड्ने निर्णय गरेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्