मणिका धाममा लाग्ने मेलाको अवसरमा बुधवार शुक्लाफाँटा नगरपालिकाले दियो सार्वजिनक विदा

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मणिका धाममा लाग्ने मेलाको लागि नगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक विदा दिएको छ । वडा नं. ८ को मणिका धाम बैजनाथ मन्दिरमा मंगलबार रात्रीकालिन पुजन जात्रा तथा १७ गते बुधबार दिउँसो मेला लाग्ने भएको छ । सो अवसरमा बुधबार सार्वजनिक विदा दिएको प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र राज भट्टले जानकारी दिनुभयो ।

मणिका धामलाई यस क्षेत्रका स्थानीय बासिन्दाले मुड्काका नामले चिन्ने गरेका छन् । धाम क्षेत्रमा सिद्धबाबाको प्राचीन मन्दिर र मन्दिर नजिकै ठूलो तलाउ रहेको छ । थारु भाषामा ‘मुड’ भन्नाले शिरलाई बुझ्ने गरिएकाले सबैभन्दा अग्लो भाग भएकाले मुड शब्दको अप्रभंश भई मुडका भएको एकथरीको भनाइ रहेको छ । पहाडबाट मौसमीरुपमा बसाइँ सारेर झर्ने व्यक्तिले ताल भएको क्षेत्र नजिकैको थुम्कोमा मन्दिर स्थापना गरी पूजा गर्दै आएपछि यो क्षेत्र अन्य समुदायका व्यक्तिका लागि पनि धार्मिक धरोहरका रुपमा विकसित हुँदै गएको छ । आन्तरिक पर्यटक यस क्षेत्रमा पुगेर अवलोकन गर्ने र तराईको दृष्यावलोकन गर्न पाउँदा आनन्दित हुने गरेका छन् ।

मुडकामा प्रत्येक वर्षको फागुन चैत महिनामा मेला लाग्ने गर्दछ । मणिकाधाममा मेला हेर्न कञ्चनपुर, कैलाली, डडेल्धुरा लगायत सीमा पारी भारतबाट समेत हजारौंको संख्यामा श्रद्धालु भक्तजन आउने गरेका छन् । परम्परादेखि लाग्दै आएको यस मेलाको छुटृै महत्व छ । मणिका क्षेत्रको दर्शन गरेमा इच्छाएको फल पाइने जनविश्वासका कारण दर्शनार्थीको भीड लाग्ने गर्छ । मुडका क्षेत्रमा रहेको तलाउमा मणिवाला सर्प बस्ने कारण यस क्षेत्रको नाम मुडका धाम रहेको स्थानीयवासी बूढापाकाको भनाई छ । समुद्री सतहदेखि झण्डै ३०० मिटर उचाइमा रहेको मुडका क्षेत्र चारैतिर हरियो सालको वनले घेरिएको छ । पूर्व–पश्चिम राजमार्गभन्दा झण्डै ११ किलोमिटर उत्तर चुरेको फेदीमा रहेको यो क्षेत्र प्राचीनकालमा पहाडबाट चौपायासहित हिउँदका बेला बसाईँ सर्नेको आश्रयस्थल रहिआएको थियो ।

यस बर्ष पनि मणिका धाम ‘मुडका’स्थित बैजनाथ मन्दिरमा लाग्ने मेलाको तयारी पूरा भएको छ । शुक्लपक्षको नवमीका दिन राति पूजाआजासँगै दशमीका दिन मणिधाममा मेला लाग्ने गर्दछ । मेलालाई व्यवस्थित र मर्यादित बनाउनका लागि सवारी धनी र यात्रुले ट्राफिक नियमको पालना गर्न लगाउने, मेलास्थलमा व्यापार व्यवसाय र होटेल व्यवसाय गर्ने व्यवसायीले तोकिएको स्थानमा मात्रै व्यवसाय सञ्चालन गर्ने, खाद्यवस्तुमा अखाद्य सामग्रीको प्रयोग नगर्ने, मेला स्थलमा धुमपान मध्यपन बिक्रीवितरण र प्रयोगमासमेत रोक लगाउन मेला व्यवस्थापन समिति सक्रिय रहदैँ आएको छ ।

वृद्धवृद्धा र फरक क्षमता भएका तथा सामाजिक हिसाबले सुरक्षा गर्नुपर्ने श्रद्धालु भक्तजनलाई पहिलो प्राथमिकतामा राखी मन्दिरमा दर्शनको व्यवस्था गरिदैँ आएको छ । मेलामा प्रतिवर्ष दुई लाख बढी दर्शनार्थी मणिका धाम क्षेत्रमा सिद्धनाथ वैजनाथ बाबाको दर्शनका लागि पुग्ने गरेको वडा अध्यक्ष बहादुर सिँह महराको भनाई छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्