सुदूरपश्चिममा नागरिक उन्मुक्तिको भर : आज विश्वासको मत लिँदै मुख्यमन्त्री रावल

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। आज बिहान ११ बजे प्रदेश सभा बैठक बस्दैछ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको बताए।

मुख्यमन्त्री रावलले काठमाडौं पुगेर दलहरूका शीर्ष नेताहरूलाई भेट गर्दै विश्वासको मतका विषयमा कुराकानीसमेत गरेका थिए। यहाँ नागरिक उन्मुक्ति पार्टीले विश्वासको मतबारे निर्णय नदिँदा लामो समयदेखि सरकार नै विस्तार हुन सकेको छैन। मुख्यमन्त्री रावललाई आज नेकपा माओवादी केन्द्रका १०, नेकपा एमालेका ९, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदले विश्वासको मत दिए भने मात्र यो सरकारले निरन्तरता पाउँछ। प्रतिपक्षमा नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ३ र स्वतन्त्र १ जना सांसद छन्।

सुदूरपश्चिम सरकार गठनमा मुख्यमन्त्री रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले भने मुख्यमन्त्रीलाई आज विश्वासको मत दिने वा नदिनेबारे निर्णय गरिसकेको छैन। नागरिक उन्मुक्ति पार्टीले मत नदिएको खण्डमा मुख्यमन्त्री रावल नेतृत्वको अहिलेको सरकार ढल्छ।

मुख्यमन्त्री रावलले विश्वासको मत लिनका लागि नागरिक उन्मुक्ति पार्टीसँग कुराकानी भने गरिरहेका छन्। यदी नागरिक उन्मुक्ति पार्टीका सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत नदिएमा नयाँ सरकार बन्ने अवस्था सिर्जना हुन्छ। त्यसका लागि नयाँ गठबन्धनबाट सरकार बन्ने वा ठूलो दलको हैसियतमा नेपाली कांग्रेसले सरकार बनाउने अवस्था आउन सक्छ।

नागरिक उन्मुक्ति पार्टीले संरक्षक रेशम चौधरीसहित टीकापुर घटनामा जेलमा रहेकाहरूलाई रिहाइ गर्नुपर्ने माग गरिरहेको छ। नागरिक उन्मुक्ति पार्टीले आफूहरूका माग पूरा नभएसम्म सरकारमा नजाने पनि बताइरहेको छ।

यसअघि नागरिक उन्मुक्तिलाई उपसभामुख पद दिने गठबन्धनमा छलफल भए पनि उक्त पद लिन नागरिक उन्मुक्तिले मानेको थिएन। त्यसपछि नेकपा एमालेबाट कोइलीदेवी चौधरी उपसभामुख बनेकी थिइन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्