यस्तो छ लटिनाथ देवताको पौराणिक इतिहास (भिडियो सहित)

काठमाडौँ –  मालिकार्जुन पुत्रको रुपमा चिनिने लटिनाथको मन्दिर लेकम गाउँपालिकाको वडा नं. ५ को जैपुरमा रहेको छ भने मौखोली समेत रहेको छ । यसैगरी अन्य स्थानमा पनि मन्दिर स्थापना गरिएको छ । निक्कै शक्तिशाली देवताको रुपमा पुजिदैँ आएको लटिनाथ मन्दिरमा कार्तिक अष्टमीको दिन जात्रा लाग्ने गर्दछ । मनोकामना पुरा हुने जनविश्वास रहि आएको लटिनाथलाई परापूर्वकाल देखि नै शक्तिशाली भनि पुजिदैँ आएको छ । मालिकार्जुन र छिपला केदार मित नातामा बाँधिएको र पछि छिपलाको रानी भागाश्री मालिकार्जुनले भगाई ल्याएपछि छिपला र मालिकार्जुन बिच युद्ध भएको भन्ने किम्बदन्ती रहि आएको छ ।

लटिनाथलाइ सौतेनी आमाहरूले षड्यन्त्रपूर्वक जन्मने वित्तिकै खोलामा बगाइ दिएका थिए त्यसपश्चात माझीले फेला पारी घरमा लगेर पालन पोषण गरेको र ठूलो भएपछि यिनी मार्माको तलैमाडाँैमा लटिनाथको रूपमा अवतार भएको पाइन्छ । मालिकार्जुनले छिपलाकी रानी भागाश्री अपहरण गरेपछि मालिकार्जुन माथि छिपलाले आक्रमण गरेका थिए । सो आक्रमण भएपछि लटिनाथले मालिकार्जुनको विजयमा ठूलो भूमिका खेलेको पाइन्छ । मालिकार्जुन र भागाश्री भागेर शिखर स्थित डाँडामा निगलाको घारीमुनि लुकेर बसेको र छिपलासँग प्रत्याक्रमणको कुनै तयारी नभएको अवस्थामा थकित र दुःखित हुँदै लटिनालाइ नदीमा बगाएको गलैनाथ नाबालक भएको अवस्थामा मलाइ कसले सहयोग गर्ला भनी मालिकार्जुनले विलाप गर्न थाले ।

यस प्रकार मालिकार्जुन संकटमा परी दुःखित भइराखेको छिपलाको सौजन्यले घेराउ गरी आक्रमण गरिराखेको थाहा पाए पछि मार्माको तलैमाण्डौबाट आफैँ सेनापति बनी अन्य देवतालाइ सहयोगी बनाइ युद्व गर्न लटिनाथ शिखर पुगेका थिए रे । शिखर डाँडामा मालिकार्जुनलाइ जानकारी गराइ शिखर डाँडाबाटै युद्व गर्न थाले । छिपलाको फौजले शिखरमा चढ्न अपठ्यारो भएकाले मालिकार्जुन बस्ने ठाउँमा पत्ता लगाउन देथलीमा पानीको ठूलो तलाउ बनाएका थिए । जसमा सूर्यको किरण प्रत्यावर्तन भइ शिखर डाँडामा पर्ने उक्त किरणले मालिकार्जुन बसेको ठाँउमा निसाना बनाइ हतियार प्रहार गर्न सजिलो भएको थियो ।

सो कुरा लटिनाथले थाहा पाइ शिखर डाँडाबाटै फलामको त्रिशुल प्रहार गरी उक्त दहको दक्षिण तिरको भाग भत्काइ दिए । जसले गर्दा पानी बाढीको रूपमा बग्न थाल्यो र तलाउ भत्कियो । तलाउ भत्काएको आक्रोशमा छिपलाबाट लटिनाथको सेना रहेको ठाँउ जयपुर र बन्तोलीमा तोप र गमलोडा प्रहार गर्न थाले । छिपलाको बम नदीको किनारामा गम्लोडा प्रहारबाट शिखर डाँडामा पहिरो समेत जान थाल्यो त्यसको प्रतिकारमा लटिनाथले तलतिर आएको पहिरोलाइ रोकि दिएकाले छिपलाको आक्रमण निरस्त पारेको पाइन्छ । त्यसैले आजपनि लटिनाथको प्रसंसा गर्दा तल बग्ने पहिरो माथि फर्काउने बीर (उना पैरा उब फर्काउन्या वीर) भनी प्रशंसा युक्त सम्बोधन गरिन्छ ।

नोट : यो इतिहास स्थानीय बुढापाखाहरुको भनाइलाई आधार मानि तयार पारिएको हाे । 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्