गठबन्धनको सरकार बनाउन सहमति, प्रधानमन्त्रीमा तीन नेताको आलोपालो, पहिले को ?

काठमाडौं – सत्तारुढ गठबन्धनमा तीन शीर्ष नेता आलोपालोमा प्रधानमन्त्री हुने सहमति जुटेको छ । तर पहिलो चरणमा शेरबहादुर देउवा कि पुष्पकमल दाहाल प्रचण्ड भन्ने टुंगिएको छैन । नेताहरुका अनुसार आइतबार बिहान १० बजे बस्ने बैठकले समग्र शक्ति बाँडफाँटबारे सहमति जुटाउनेछ र राष्ट्रपतिले दिएको समयसीमाभित्रै नयाँ सरकार गठनका लागि दाबी गरिनेछ ।

संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि दावी पेश गर्न राष्ट्रपतिले दिएको ७ दिनको समयसीमा आइतबार अपरान्ह ५ बजे सकिने छ । त्यसको अघिल्लो दिन प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुको बैठकमा शक्ति बाँडफाँटबारे खुलेर कुराकानी भएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनकै सरकार बनाउन तीनवटै दल सहमत देखिएका छन् । प्रधानमन्त्रीमा २/२/१ वर्षको पालो गर्ने पनि सहमति जुटेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुनेछन् । ‘सुरुमा को प्रधानमन्त्री हुने भन्नेमा देउवा र प्रचण्डको दाबी कायमै छ। बैठकमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा पहिले आफूलाई पालो दिनुपर्ने बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्