प्रदेशसभा : पुस २१ गतेभित्र अधिवेशन बोलाइसक्नुपर्ने र त्यसअघि सदस्यले शपथ लिइसक्नुपर्नेछ

काठमाडाैं – नेपालको संविधानको धारा १७९ अनुसार प्रदेसभाका सदस्यहरूले प्रदेशसभा बैठकमा पहिलोपटक भाग लिनुअघि प्रदेश कानुनबमोजिम शपथ लिनु पर्नेछ । त्यसैगरी संविधानको धारा १८३ (१) मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । निर्वाचन आयोगले यही पुस २ गते अन्तिम परिणाम घोषणा गरिसकेकाले आगामी पुस २१ गतेभित्र अधिवेशन बोलाइसक्नुपर्नेछ भने त्यसअघि नै नवनिर्वाचित प्रदेशसभा सदस्यले शपथ लिइसक्नुपर्नेछ ।

प्रदेशसभा सचिवालयका सचिव यादवले संवैधानिक व्यवस्थानुसार आगामी पुस २१ गतेभित्र प्रदेशसभा बैठक बस्नैपर्ने भएकाले त्यही आधारमा प्रदेशसभा बैठकको व्यवस्थापन गरिने स्पष्ट पारे । बीस दिनभित्र बैठक बस्ने र त्योभन्दा अघि शपथग्रहण गरिसक्नुपर्ने प्रावधान भए पनि प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्षको बन्ने प्रष्ट नभएकाले अहिले नै प्रदेशसभा बैठक व्यवस्थापनमा अन्योल रहेको बताए । “बैठक बस्नुअघि नै नयाँ सरकार बनेमा सोहीअनुसार व्यवस्थापन गर्छौँ”, यादवले भने, “त्यसो नभए पनि सर्वदलीय बैठकको निर्णयबमोजिम अगाडि बढ्छौँ ।”

संविधानको धारा १६८ (३) मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र प्रदेश सरकार बनाउनुपर्ने प्रावधान छ । यसअनुसार आगामी पुस ३१ गतेभित्र सरकार बनाइसक्नु पर्नेछ । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्