मङ्सिर २६ गतेसम्म चुनावसम्बन्धी सबै काम सकिन्छ : प्रमुख आयुक्त थपलिया

File PHoto

काठमाडौँ  – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यही मङ्सिर २६ गतेसम्ममा चुनाव प्रक्रियाका सबै काम सक्ने बताएका छन् ।

आज शुक्रवार जिल्ला निर्वाचन कार्यालय काठमाण्डौले जिल्लामा चुनावमा खटिने निर्वाचन अधिकृत र सुरक्षा निकायका प्रमुखका लागि राखेको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनाव प्रक्रियाका सबै काम मङ्सिर २६ गतेसम्म सक्ने तयारी रहेको बताएका हुन् । उनले मङ्सिर १९ गतेसम्ममा मतगणना कार्य सम्पन्न गरिसक्ने र राजनीतिक दलहरूलाई मङ्सिर २२ गतेसम्ममा निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको नाम कानुनले तोके अनुरूप पठाउनका लागि पत्राचार गरिने पनि उल्लेख गरे । त्यसपछि राष्ट्रपति समक्ष प्रतिवेदन पेस हुने उनले बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले एकै चरणमा सबै ठाउँको चुनाव सम्पन्न गरेर आउँदा दिनमा पनि सबै ठाउँमा एकै चरणमा चुनाव सम्पन्न गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको बताए । उनले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको उल्लेख गरे ।

उनले आफूहरू वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट नभएको बताए । उनले आउँदो संसदमा चुनावसम्बन्धी नयाँ कानुन लैजाने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘हामी वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट छैनौँ । हामी छिट्टै अब नयाँ कानुनद्वारा निर्वाचनको व्यवस्थापन गरिनुपर्छ भन्ने कुरामा व्यापक तयारी गरिरहेका छौँ । सम्भवतः यो नयाँ संसदको नयाँ अधिवेशनमा नयाँ कानुन प्रवेश गर्नेछ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्