अहिलेसम्म ७ वटा दलले राष्ट्रिय पार्टीकाे मान्यता पाए : निर्वाचन आयोग

काठमाडौँ  – निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ ।

निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रवार (आज) दिउँसाेसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएको जानकारी गराएका हुन् । जसअनुसार एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । समानुपातिकतर्फ अहिलेसम्म एक करोड तीन लाख ८२ हजार ७५ मत गणना भइसकेको छ ।

दोलखा, बाजुरा र स्याङ्जामा भने मतगणना चलिरहेकाले त्यसको परिणाम आउन बाँकी रहेको आयोगले जनाएको छ ।

आयोगले चार दिनभित्र समानुपातिकतर्फको मतगणना सम्पन्न हुने अनुमान गरेको छ । दलहरूले पाएको मत सङ्ख्याअनुसार उनीहरूले बन्दसूचीमा पठाएका समानुपातिक सांसदहरू निर्वाचित हुनेछन् । त्यसका लागि आयोगले दलहरूले प्राप्त गरेको सङ्ख्या पठाउने र दलहरूले आफूले बन्दसूचीमा पेस गरेका नामावलीको क्रम सङ्ख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्