कोप २७ मा नेपालको वृत्तचित्र प्रदर्शन : हेलम्बुको मुद्दा अन्तर्राष्ट्रिय स्तरमा (भिडियो)

काठमाडौँ – इजिप्टको शर्म एल शेख सहरमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी २७ औँ अन्तर्राष्ट्रिय महासम्मेलन (कोप २७) मा नेपालको वृत्तचित्र प्रदर्शन गरिएको छ ।

भ्वाइस फर क्याइमेट जस्टिस् शीर्षकको वृत्तचित्रमा नेपालका उच्च हिमालय, मध्य पहाडदेखि तराईमा जलवायु परिवर्तनको असरले पुर्याएको मुख्य क्षति समेटिएको छ । हेलम्बुको मुद्दालाई साथ साथ फउन्डेशनले अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको हो ।

वृत्तचित्रमा हेलम्बु गाउँपालिकामा गएको विनासकारी बाढीको क्षतीलाई समेत समेटिएको छ । हेलम्बु गाउँपालिकाले आफ्नो मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सफल भएको छ । ‘हामी हेलम्बुको मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सफल भएका छौँ’ गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने, ‘सरकारले हेलम्बुको मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा समावेश गराएको छ ।’ कोप २७ को एजेण्डा नै हेलम्बु गाउँपालिकाको मुद्दा भएको अध्यक्ष शेर्पाको भनाई छ । सम्मेलनमा गाउँपालिका अध्यक्ष शेर्पा समेत जाने तयारी पुर्ण भइसकेको थियो । तर निर्वाचनको कारण अध्यक्ष शेर्पा सम्मेलनमा उपस्थित हुन सकेनन् । सम्मेलनमा नेपाल सरकारले जलवायु परिवर्तनका कारण सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रका सर्वसाधारणले भोगिरहेका समस्याहरूको उत्थान गरिदिनु पर्ने र अन्तर्राष्ट्रिय समुदायले त्यी समस्याहरूको सम्बोधन गरिदिनु पर्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पा बताउँछन् ।

महासम्मेलनमा नेपालको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको नेतृत्वमा वन, तथा वातावरणविद्सहितको टोली सहभागी रहेको छ ।

वृत्तचित्रमा सर्वोच्च शिखर सगरमाथासहितका हिमालहरूमा हिउँ कमी भएको, बाक्लो हिमनदी पग्लिएर भएको क्षति, बाढी पहिरो, बेमौसमी वर्षाले धनजन, अन्नबालीमा पुर्याएको क्षति समेटिएको छ । गत वर्ष मार्च ८ मा विभिन्न क्षेत्रका अगुवा ४० जना महिलाले गरेको सगरमाथा आधार शिविर, काला पत्थरसम्मको पैदल यात्रा, सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी पहिरोको दर्दनाक दृश्य देखि डोल्पामा यसै वर्ष वर्षाले पुर्याएको क्षति त्यसमा समावेश छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्