काम नगर्ने, कुरा मात्रै गर्ने प्रवृत्तिका नेताबाट देश विकास सम्भव छैन: महत

जनकपुरधाम – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मुलुकको विकास र समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूले जित्नुपर्ने बताएका छन्।

संविधान र प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनको लागि कांग्रेसको नेतृत्वमा वर्तमान गठबन्धन बनेको भन्दै उनले सबै उम्मेदवारलाई जिताउनुपर्ने बताए। जनकपुरधाममा आज भएको पत्रकार सम्मेलनमा बोल्दै महतले देशलाई नै जोडेर राख्न सक्ने कांग्रेसको नेतृत्व जनताले चाहेको बताए।

‘मुलुकमा विभाजनकारी होइन, समन्वयकारी नेतृत्वको आवश्यकता छ। काम नगर्ने, कुरा मात्रै गर्ने प्रवृत्तिको नेताबाट देशको विकास समृद्धि सम्भव छैन। देशले जिम्मेवार नेतृत्व खोजेको छ, त्यो नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ’, उनले भने। कांग्रेस नेतृत्वको गठबन्धनले संविधानद्वारा प्राप्त सबै उपलब्धिको रक्षा गर्ने र आवश्यक संशोधन र परिमार्जन गर्दै यसै संविधानबाट अघि बढ्ने उनले बताए। कांग्रेसको नेतृत्व सहिष्णु रहेको र काम बढी कुरा कम गर्ने भएकाले नै नेपाली जनताले सत्तामा चाहेका स्पष्ट गर्दै आगामी निर्वाचनपछि पनि देशमा कांग्रेसकै नेतृत्वमा यही गठबन्धनको सरकार बन्ने उनले बताए।

महतले हुलाकी राजमार्गको निर्माणमा भएको व्यवधानलाई हटाएर गति दिएको र नागरिकता विधेयक ल्याउँदा एमालेको अवरोधका कारण लागू गर्न नसकेको पनि स्पष्ट पारेका थिए। महतले विगतमा बिग्रेको परराष्ट्र सम्बन्धलाई पनि कांग्रेस नेतृत्वको गठबन्धन सरकारले सुधार गरेर समानताको आधारमा सन्तुलित बनाएको बताए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्