सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुईको मृत्यु

कपिलवस्तु – कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शुक्रबार साँझ जिल्लाको बाणगङ्गा नगरपालिका–३ सिउटीमा सो ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

४ नं तौलिहवा सडकखण्डमा भएको दुर्घटनामा चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयवासी अमर तङनामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए।

ट्रकले ठक्कर दिँदा सडकमा हिँडिरहेका स्थानीय सागर पाण्डे, राजु चौधरी र कुलबहादुर घर्ती गम्भीर घाइते भएका छन् । उनीहरुको बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । ट्रकमा सवार थप तीनजना सशस्त्र प्रहरी जवान गोविन्द सुवेदी, जनक चौधरी र प्रेम मल्ल घाइते भएका छन् । उनीहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।

बस्ती नजिकै भएको दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरीले घाइतेको उद्धार गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । रासस

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्