कैलालीमा नक्कली लालपुर्जा बाँडेर १६ लाख ठगेको आरोपमा दार्चुलाका ठगुन्ना पक्राउ

काठमाडौँ – कैलालीमा करीब १६ लाख असुलेर ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । दार्चुलाको मार्मा स्थायी घर भएर गोदावरी नगरपालिका–९ को खुटिया बस्ने ३६ वर्षीय डम्बरबहादुर ठगुन्ना ठगी आरोपमा पक्राउ परेका हुन् ।

पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा आइतबार राति ठगुन्नालाई खुटियास्थित डेराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । ठगुन्नाले चुरे गाउँपालिका–५ को सिस्नेरी, गोदावरी नगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकाका समेत गरेर ३५ जनालाई ठगी गरेको पाइएको छ । ठगुन्नाले उनीहरुबाट ४५ हजारका दरले रकम लिएर कैलालीको गौरीगंगा नगरपालिकामा एक कठ्ठा ऐलानी जग्गा खरिद गरिदिएको भन्दै नक्कली लालपुर्जा थमाएको पाइएको हो ।

भूमि आयोगमा आफ्नो पहुँच भएको बताउँदै रकम लिएर नक्कली लालपुर्जा बाडेपछि १५ लाख ७५ हजार रुपैयाँ लगेर फरार भएका ठगुन्नालाई पीडितले समातेर प्रहरीलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र पाण्डेले बताए।

ठगुन्नाविरुद्ध पीडित मध्येका चुरे गाउँपालिका–५ बस्ने खड्कबहादुर पुनमगर, सुकलाल राना, हर्कबहादुर खत्री, गोपालबहादुर रोका, सुरेशबहादुर मगर, नेत्रबहादुर साउँद, नरबहादुर बोहरा, हरजित बोहरा,मान्ने बोहरा र चक्र बहादुर साउँद गरेर १० जनाले किटानी जाहेरी दिएका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्