रौतहट-३ मा एमालेलाई धोका दिएका प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन

काठमाडौँ – रौतहट-३ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले) ले दिएको टिकट दिनभरि होल्ड गरेर अन्तिममा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ।

एमालेको टिकट पाएका साहले अन्तिममा स्वतन्त्र उम्मेदवारी दिएपछि उक्त क्षेत्रमा एमाले उम्मेदवारविहीन बनेको छ। स्वतन्त्र उम्मेदवारी दिएसँगै साहले एमालेमा नरहेको घोषणा गरिसकेका छन्। उनी एमाले स्थायी कमिटी सदस्य थिए।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले रौतहट-३ मा आफ्नो पार्टीका उम्मेदवार रहे पनि गठबन्धनले साहलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिए। रौतहट-३ मा सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका रवीन्द्र पटेल उम्मेदवार बनेका थिए।

साहलाई समर्थन गर्ने औपचारिक सहमति भइसकेको र उनको राजनीतिक समर्थनमा उम्मेदवारी निष्क्रिय हुने पुनले बताए ।

सशस्त्र युद्धका बेला नै भूमिगत भएका साह २०६४ र २०७० को संविधान सभामा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। २०७४ को चुनाव पनि उनले त्यहीँबाट जितेका थिए। माओवादी केन्द्रमै हुँदा साह तीन पटक मन्त्री भएका थिए। २०७७ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उनी ओली सरकारको मन्त्री बनेका थिए। स्वतन्त्र उम्मेदवार बनेका साहले चापाकल चुनाव चिन्ह पाएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्