आगामी निर्वाचनमा गोरखा– २ बाट उम्मेदवार नबन्ने बाबुरामको घोषणा

File Photo

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सोमबार मध्यान्ह पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फ आसन्न निर्वाचनमा गोरखा– २ बाट उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

०६४, ७० र ७४ मा गोरखा २ बाट विजयी गराएकोमा गोरखालीप्रति आभार व्यक्त गरेका छन् । भट्टराई आगामी निर्वाचनमा चुनावी प्रतिस्पर्धामा नउत्रिने भएका छन् । आफ्नो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका र केही सुरूभएका आयोजना पूरा हुन बॉकी रहेका उनले बताए । बॅकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहने भट्टराईको प्रतिबद्धता छ ।

२०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउने–जाने र जनताको घरदैलोमा पुग्ने काम गरिराख्दा धेरै सिक्ने अवसर पाएको उनले बताए । आगामी दिनमा पनि म निरन्तर तपाईंहरूकै सेवामा रहिरहने उनको भनाइ छ । भट्टराईले लेखेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन । कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न र भन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन।’ तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता र समाजको सेवा गर्ने साधन भएको उनले बताए ।

‘म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु। म सबै गोरखाली दिदीबहिनी दाज्युभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ,’ उनले लेखेका छन् । आफू गोरखाली दिदीबहिनी दाजुभाइको साथमा हुने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्