एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए

FILE PHOTO

काठमाडौं– नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभामा १३५ निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ ।

बिहीबार राति अबेरसम्म बसेको सचिवालय बैठकले अधिकांश स्थानमा उम्मेदवार टुंगो लगाएको हो । बैठकले आगामी चुनावमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको हो ।

पोखरेलका अनुसार पार्टीको आन्तरिक संघर्षपछि सहमति गरेर फर्किएका कतिपय नेताहरुको क्षेत्रमै सर्वाधिक विवाद छ । सहमतिपछि फर्किएका १० नेतामध्ये गोकर्ण विष्टको क्षेत्र गुल्मी १ मा मात्रै टुंगो लागेको छ । ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई र तिलकुमार मेन्याङ्बोबीच टिकटको लडाइँ छ । मधेस प्रदेश, रुपन्देही, काठमाडौं, चितवन लगायतका जिल्लामा उम्मेदवार टुंग्याउन समस्या भएको छ ।

एमालेले झापामा नै सबै उम्मेदवार टुंगो लगाउन सकेन । राप्रपासँग सम्भावित तालमेलका लागि क्षेत्र नम्बर ३ खाली राखिएको छ । पोखरेलले टुंगो लगाउन नसकिएको क्षेत्रमा ‘थप परामर्श गरिने’ बताउनुभयो । एकल सिफारिस भएका अधिकांश क्षेत्र टुंगिएका छन् । तर, एकल सिफारिस भएको झापा १ मा नै रविन कोइरालाको नामलाई अन्तिम रुप दिइएको छैन ।

मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग तालमेलको सम्भावना रहेकाले टुंगो लगाइएन । एमालेले समानुपातिक उम्मेदवारको नामावलीमा केही संशोधनसहित बन्दसूची शनिबार निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्