आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं – आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

नेपाली साहित्यका आदिकवि आचार्यले संस्कृत भाषामा लेखिएको ‘रामायण’ लाई भावानुवादसहित नेपालीमा लेखेर इतिहास राखेका थिए । उहाँले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा लय हालेर पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका थिए भने भानुभक्तको निधन विसं १९२५ असोजमा भएको थियो । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।

‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए – ‘भोलिभोलि भन्दैमा सव घर बितिगो बक्सियोस् आज झोली’ ।

आज बिहान काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्