कुरिनटारमा गोताखोर तालिम सम्पन्न, छोटो समयमै सशस्त्रको उत्कृष्ट काम : गृहमन्त्री खाण

चितवन – नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा गोताखोर तालिम सम्पन्न भएको छ । शनिवार चितवनको इच्छाकामना–४ स्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा उक्त तालिमको समापन गरिएको हो ।
कार्यक्रमको समपान कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोत र साधनका बीच पनि सशस्त्र प्रहरीले उत्कृष्ट कार्य गरिरहेको बताउनुभएको छ । सीमित स्रोत साधनबीच पनि छोटो समयमै सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालयले सयौँ मानिसको ज्यान बचाउन सफल भएकोले सशस्त्र प्रहरीको प्रशंसा गरेका थिए ।
गृहमन्त्री खाणले भन्नुभयो, “यस विपद् तालिम शिक्षालयले छोटो समयमै सयौँ नागरिकको जीवन बचाउने काम गरिरहेको छ, तथापि साधन र स्रोतको सीमाका कारणले पूर्ण क्षमताको काम गर्न सकेको छैन ।” 

साथै गृहमन्त्री खाँडले कुरिनटारस्थित त्रिशूली नदीमा गोताखोर तालिमको डेमो र शिक्षालयमा रहको ट्रमा सेन्टरको समेत अवलोकन गर्नुभएको छ । यसैगरी कार्यक्रममा बोलदै सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले विपद् व्यवस्थापन कार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले १० वर्षअघि स्थापना गरिएको शिक्षालयमा पेशागत तालिमका साथै विपद् व्यवस्थापनसम्बन्धी आधारभूत तालिम सञ्चालन गर्दै आइरहेको बताउनुभयो । नेपालमा नदी तालमा भइरहने विपद्मा उद्धारका लागि गोताखोर परिचालन अपरिहार्य रहेको महानिरीक्षक अर्यालको भनाइ छ ।

गृह सचिव टेकनारायण पाण्डेले विपद्का बेला विदेशबाट गोताखोर बोलाउनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपालमै गोताखोर उत्पादन हुनु विपद् व्यवस्थापनको क्षेत्रमा उल्लेख्य उपलब्धी भएको चर्चा गर्नुहुदै सवैको समन्वय र सहकार्यमा मात्र विपद् व्यवस्थापनमा लक्ष्य प्राप्त गर्न सकिने बताउनुभयो ।

राष्ट्रिय विपद् प्राधिकरण र सशस्त्र प्रहरी बल प्रधान कार्यालयबीचको सहकार्यमा सम्पन्न उक्त तालिममा २० सशस्त्र प्रहरीका जवान प्रशिक्षार्थीका रूपमा सहभागी भएका थिए । तालिम गत वैशाख २५ गतेदेखि सुरु भएको थियो । तालिम अवधीभर प्रशिक्षार्थीहरुलाई कोशी नदि, फेवाताल, कुलेखानी लगायतका फरक फरक भौगोलिक स्थान तथा वातावरणमा प्रशिक्षण दिइएको थियो ।

नेपालले २०६९ सालमा पहिलो पटक बंगलादेशमा संचालन भएको गोताखोर तालिममा २५ जना सशस्त्र प्रहरीहरुले तालिम सम्पन्न गरेका थिए । उक्त तालिम पश्चात देशका विभिन्न भागमा भएका विपद् उद्धारका घट्नाहरुमा परिचालित भई उद्धार कार्य गरिरहेका छन । तालिम प्राप्त जनशक्तिको अभाव भएको कारण थप जनशक्ति उत्पादन गर्ने उद्धेश्यले नेपालमा नै पहिलो पटक २०७६ सालमा सशस्त्र प्रहरी बल, नेपालले बराह बाहिनी मुख्यालय पकली सुनसरीमा १९ जना सशस्त्र प्रहरीहरु प्रशिक्षित भएको थियो ।

हाल देशका विभिन्न ६ स्थानमा ३७ जना गोताखोर सशस्त्र प्रहरी कर्मचारीहरु परिचालित भई गहिरो ताल, तलैया, पोखरी तथा नदिहरुमा डुवी वेपत्ता तथा घाईते भएका व्यक्तिहरुको खोजतलास लगायतका उद्धार कार्यमा संलग्न हुँदै आईरहेका छन् । जसबाट विदेशी गोताखोरहरु झिकाई उद्धार कार्य गर्नु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ ।

तालिमको समापन कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, अनुसन्धान निर्देशक हरिहर पौडेल, इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङलगायतको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्