पाँचौ तहको लागि विज्ञापन खोल्ने अन्तिम तयारीमा प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम

काठमाडाैं – प्रदेश लोकसेवा आयोग अन्तर्गत धमाधम कर्मचारी माग भईरहदा प्रदेश लोक सेवा आयोग, सुदूरपश्चिमले भने कर्मचारी पदपूर्तिमा केहि ढिलाई गरेको छ । हुनत सबैभन्दा ढिलो स्थापना भएको प्रदेश लोक सेवा आयोग, सुदूरपश्चिमले अन्य तयारी भने तीव्र पारेको छ । विभिन्न सेवा, समुहको प्राविधिक तथा अप्राविधिकको सहायक पाँचो तह र सहायक चौथो तहको पाठ्यक्रम निर्माण गरेको छ भने अनलाईन सेवालाई समेत वेवसाईटमा जोडेको छ ।

थोरै माग संख्यामा अत्यधिक दरखास्त पर्ने भएकाले भौतिक रुपमा फारम संकलन कठिन हुने भएकाले अनलाइन सेवालाई विस्तार गरेको प्रदेश लोक सेवा आयोगका सचिव दुर्गादत्त विष्टले बताउनुभयो । उपहार खबरसँग कुराकानी गर्दै सचिव विष्टले सुरुवातमा वेवसाईट निर्माण भएको र त्यसपश्चात पाठ्यक्रम निर्माणका लागि विषयविज्ञ, विज्ञहरुलाई मनोनय गरी पाठ्यक्रम निर्माण समिति गठन भएको बताउनुभयो । त्यसपश्चात उहाँहरुको रायसुझावका आधारमा पाठ्यक्रम निर्माण भएको हो । पाठ्यक्रम निर्धारण समिति जसमा लोक सेवा आयोगको अध्यक्ष, एकजना सदस्य, सम्बन्धित मन्त्रालयको सचिव, प्रदेश लोक सेवा आयोगको सचिव र दुईजना विज्ञ तथा विषयविज्ञ सहित महाशाखाको प्रमुख रहेका छन् । उक्त पाठ्यक्रम प्रदेश लोक सेवा अयोगमा पेश हुन्छ । आयोगले सम्बन्धित मन्त्रालय र स्थानीय तहमा रायपरामर्शका लागि पठाउने गर्दछ र त्यहाँबाट प्राप्त भएपश्चात प्रदेश लोक सेवाले स्वीकृत गरि वेवसाईमा अपलोड गर्ने गर्दछ ।

हालसम्म प्रदेश लोक सेवा आयोगले करिब २३ वटा पाठ्यक्रम निर्माण गरिसकेको छ । लुम्बिनी प्रदेशमा १४९ सिटको लागि ६१ हजार दरखास्त परेको स्मरण गराउदै सचिव विष्टले भौतिक रुपमा असम्भव भएकाले अनलाईन सुरुवात गरिएको बताउनुभयो । अहिले अनलाईन दरखास्त दिने व्यवस्था मिलाइएको छ । आवेदन शुल्क तथा राजश्वका लागि महालेखा परिक्षकको कार्यालयबाट स्वीकृती लिनुपर्ने भएकाले सो समेत लिईसकेको र अब आवेदकले त्यसमा समावेश भएका ४/५ बैंकहरुमा आफुलाई पायक पर्ने बैंक छानी आवेदन शुल्क बुझाउन सक्नेछन् । बुझाएपश्चात स्वतः अनलाईनमा राजश्व पेश भएको संकेत आउने छ र फारम स्वीकृत हुनेछ ।

यसभन्दा पहिले सुदूरपश्चिम प्रदेशले स्थानीय तहहरुलाई कर्मचारी माग गर्न पत्राचार समेत गरेको थियो । रिक्त दरबन्दी पठाउन माग आकृति फारम निर्देशिकामा उल्लेख भएअनुरुप अहिलेसम्म २१ जनाको लागि मात्रै कर्मचारी माग भएको छ । यसलाई अझै सशक्त भएर कर्मचारी दरबन्दी अनुसार रिक्त पदमा कर्मचारी माग गर्न स्थानीय तहलाई ताकेता भएको र प्रत्येक पालिकाहरुमा फोन समेत गरिएको सचिव विष्टले बताउनुभयो । आइतबारभित्र रिक्त दरबन्दीमा कर्मचारी माग गर्न निर्देशन दिएको छ । सो बमोजिम कर्मचारी माग भए सोहि अनुरुप विज्ञापन गर्ने र यदि कर्मचारी माग आएन भने लोक सेवा आयोगबाट कर्मचारी खटाएर भएपनि भेरिफिकेशन गर्ने सचिव विष्टले प्रष्ट पार्नुभयो ।
दरबन्दी अनुसार कर्मचारी नपठाउने, दरबन्दी लुकाउने गरिएको पाइएमा प्रदेश लोक सेवा ऐन बमोजिम कारवाही समेत गरिने सचिव विष्टले बताउनुभयो । अहिले पछिल्लो समय प्रदेशमा बन रक्षकको अभाव रहेको बुझिएकोले करिब १७५ जनासम्म बन रक्षकको विज्ञापन गर्ने तयारी भइरहेको र सुरुवातमा बनरक्षकलाई प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो ।

बार्षिक कार्यतालिका तयार भइसकेको र माग अनुसार विज्ञापन गर्ने अन्तिम तयारीमा प्रदेश लोक सेवा आयोग जुटेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्