मंसिर १ देखि सानेपामा अनसन बस्ने डडेलधुरा​ काँग्रेस सभापतिको घोषणा

काठमाडौं – नेपाली काँग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लले मंसिर १ देखि पार्टी कार्यालय सानेपामा अनसन बस्ने घोषणा गरेका छन् । शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै डडेलधुरा जिल्लाका सबै वडाका क्रियाशील सदस्यहरू सानेपामा अनसन बस्ने बताए ।

‘११ दिन हामी पार्टी कार्यालय डडेलधुरामा अनसन बस्यौँ, त्यसको पनि कुनै सुनुवाइ भएन,’ उनले भने, अब हामी डडेलधुरा जिल्लाका सबै वडाका क्रियाशील सदस्यहरू मंसिर १ गते सानेपामा अनसन बस्छौँ ।’ सभापति मल्लले आफूहरूको बहिस्कारका बीच भएको डडेलधुरामा वडा र पालिका अधिवेशन स्वीकार्य नहुने बताए ।

डडेलधुरामा आफूहरूको बहिस्कारकाबीच भएको अधिवेशनलाई समितिले वैधता दिन नसक्ने दाबी गरे । केन्द्रीय निर्वाचन समिति पार्टीको केन्द्रीय सभापति शेरबहादुर देउवाको निर्देशनमा काम गरिरहेको आरोप लगाए । ‘हामीले लिखित रूपमा सप्रमाण निर्वाचन समितिमा उजुरी दिएका छौँ, के कति कारणले डडेलधुराको अधिवेशन वैध भएको हो, समितिले हामीलाई पनि जानकारी गराउनुपर्छ,’ मल्लले भने । सभापति देउवाको गृह जिल्ला समेत रहेको डडेलधुरामा समितिले निष्पक्ष काम नगरेको उनको आरोप छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्