‘श्री एअरलाइन्स’का सञ्चालक सुधीर मित्तलको ट्याक्स हेभन मुलुकमा लगानी भेटियो

सुधीर मित्तल तस्वीरः द काठमाडौं पोष्ट

नेपालको पुरानो एअरलाइन्स कम्पनी ‘श्री एअरलाइन्स’का सञ्चालक सुधीर मित्तलको पनि ट्याक्स हेभन मुलुकमा लगानी भेटिएको छ । ज्ञानेश्वर काठमाडौं ठेगाना उल्लेख गरी मित्तलले ब्रिटिश भर्जिन आइल्याण्डमा पेगासस एअर चार्टस् इंक कम्पनी खोलेको भेटिएको छ । प्राप्त कागजात अनुसार मित्तल यो कम्पनीको लाभार्थी मालिक हुन् र उनले कम्पनीका नाममा बैंक खाता पनि खोलेका छन् । उनले कम्पनीको सम्पत्तिको उत्तराधिकारी पनि आफैं रहेको कागजातहरू पेश गरेका छन् । पेगाससको निर्देशक कम्पनी साइप्रसको ज्यासिनार लिमिटेड रहेको देखिन्छ ।

उनले सन् २००६ मा ब्रिटिश भर्जिन आइल्याण्डमा ग्रिफन एसेट होल्डिङ्स लिमिटेड नामक अर्को कम्पनीमा पनि लगानी गरेको भेटिएको छ । उनी यो कम्पनीमा लाभार्थी मालिक रहेको कागजातहरूले देखाउँछन् । उनले कम्पनीमा लगानी गर्नका लागि आफ्नो बसाइ युएईमा रहेको उल्लेख गरेका छन् । यो कम्पनीमा उनकै परिवारका सदस्य भारतीय नागरिक अदिती गुप्ता मित्तल, अमेरिकी नागरिक अनन्या मित्तल र दिभान्स मित्तल पनि लाभार्थी छन् ।

यो कम्पनी दर्ताको काम गरिदिने एजेन्ट कम्पनी ट्राइडेन्ट ट्रष्ट (मरिसस) लिमिटेड हो । ग्रिफनको शेयर होल्डर द एल्केमी ट्रष्टले यो कम्पनीमा प्रतिकित्ता एक डलरका दरले ५० हजार कित्ता शेयर लगानी गरेको छ । सन् २०१६ देखि कम्पनीको निर्देशकमा ब्रिटिश भर्जिन आइल्याण्डको ब्लुस्फेयर लिमिटेड रहेको देखिन्छ ।

सुधीरले द एल्केमीबाट दुई लाख अमेरिकी डलर रकम आफू सहित आफ्नो परिवारका सदस्यको लगानी रहेको ग्रिफनको खातामा सारेको भेटिएको छ । यो काममा नेपालको गोर्खा ठेगाना भएका र पेशाले अकाउन्टेन्ट अशोक रेग्मी साक्षी देखिन्छन् ।

मित्तललाई उनको कारोबारबारे सोध्न फोन सम्पर्क गर्दा उनले भेटेर मात्रै कुराकानी गर्ने बताए । त्यसपछि भने उनले फोन उठाएनन् । अर्को दिन आफैं म्यासेज पठाएका उनले ‘आफु २५ वर्षसम्म नेपालमा नबसेको र बुवाको मृत्युपछि मात्र नेपाल फर्किएको’ बताए । तर आफ्नो अफशोर लगानीबारे प्रतिक्रिया दिन चाहेनन् ।

सिआईजी नेपाल डट ओराजी डट एनपी बाट सभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्